४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले ठूलो आवाज गर्दैमा तर्क र तथ्य ठूलो नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा कुरा राख्दै सभापति लामिछानेले सांसदहरूलाई चर्को नबोल्न सुझाव दिँदै यस्तो बताएका हुन् ।
‘म पनि चर्को आवाज गर्दै अर्को ठाउँमा आएको हुनाले मेरो आफ्नै अनुभवले के भन्छ भने कैलेकाहीँ ठूलो स्वरले भन्दा ठूलो तर्क भयो भन्ने हुन्छ,’ सभापति लामिछानेले भने, ‘तर, आवाज ठूलो हुँदैमा तर्क र तथ्य ठूलो हुन्छ भन्ने पनि होइन, कहिलेकाहीँ प्रमाण यति बलियो हुन्छन् कि हामीले मुख रातो पारेर केही हुन्न ।’
तथ्य प्रमाणका आधारमा कुरा गरे अझ बढी प्रभावकारी हुने रास्वपाले गर्न खोजेको सुधारका कामहरूमा हामी अगाडि बढ्ने उनले बताए ।
‘मेरो साथीहरूलाई विनम्रतापूर्वक आग्रह छ– केही समितिहरू निकै संवेदनशील हुन्छन् । त्यो संवेदनशीलतालाई मध्येनजर गरेर कुरा राखे समितिको गरिमा पनि रहन्छ र हाम्रो पदको गरिमा पनि रहन्छ,’ लामिछानेले भने ।
सभापति लामिछानेले आरोप लागेकै आधारमा र छापामा आएकै आधारमा व्यक्तिलाई दोषी करार गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको आशय व्यक्त गरे ।
‘आरोपमै सीमित रहेका विषयहरू, छापामा शंकास्पद् रूपमा आएका विषयहरू, अदालतमा पनि भएका विषयहरू, त्यसमा कसैले बयानमा पोलेका, कसैले कुनै प्रसंगवस लिएका नामहरू हामीले त्यसलाई हेर्ने बित्तिकै बडो ध्यान दिनुपर्छ होला,’ लामिछानेले भने, ‘किनभने कैलेकाहीँ संवेदनशील विषय हुन्छन्, हरेक व्यक्तिको निजी जीवन पनि संवेदनशील हुन्छ । संवेदनशील निकाय अझ बढी राज्यको पिलर भएकाले हामीले तथ्यहरू राख्दाखेरी हाम्रा संरचनाको सम्मानमा आँच नपुगोस् भन्ने ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया 4