News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले भदौ १० गतेपछि मधेशका जिल्लाहरूको भ्रमण गरेर अधिवेशन गराउने जानकारी दिएका छन् ।
- रास्वपाले मधेश प्रदेशको अधिवेशन नसकी केन्द्रीय महाधिवेशन गरेको थियो र पर्साबाहेक अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन ।
- रास्वपाको निर्वाचन आयोगले अधिवेशन हुन नसकेका स्थानमा प्रक्रिया सुरु गर्न परिपत्र गरिसकेको छ ।
४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अधिवेशनको वातावरण बनाउन मधेशका जिल्लाहरूको भ्रमणमा निस्कने भएका छन् । रास्वपाले मधेश प्रदेशको अधिवेशन नसकी केन्द्रीय महाधिवेशन गरेको थियो ।
मधेशका जिल्लाहरूमध्ये पर्सामा नयाँ नेतृत्व चयन भएको छ भने अन्य जिल्लाको अधिवेशन हुन सकेको छैन । अन्य जिल्लामा अधिवेशन प्रक्रिया सुरु गरिसकेपछि विवाद भई स्थगित भएको थियो ।
जिल्ला मातहतका पार्टी संरचनामा पनि अधिकांश स्थानको अधिवेशन भएको छैन । अन्य छ प्रदेशको अधिवेशन हुँदा मधेसको हुन सकेको थिएन ।
सभापति लामिछानेले महाधिवेशन सकिएलगत्तै पनि मधेशका सांसदहरुलाई भेटेर मधेशमा अधिवेशन गराउन आफैं जाने जानकारी गराएका थिए । रास्वपा मधेश प्रदेशका एक सांसदका अनुसार, बुधबार (हिजो) मधेशका सांसदहरूले सभापति लामिछानेलाई भेटेका थिए ।
उक्त भेटको क्रममा भदौ १० गतेपछि मधेशका जिल्लाहरूको भ्रमणमा निस्कने सभापति लामिछानेले जानकारी गराएका थिए ।
भेटमा सहभागी ती सांसदले भने, ‘चितवनबाट पर्साको ठोरी हुँदै मधेशका जिल्ला भ्रमण गर्ने सभापतिले जानकारी गराउनु भएको छ । सभापतिको यो यात्रा अधिवेशन गराउनका लागि हो ।’
रास्वपाको निर्वाचन आयोगले अधिवेशन हुन नसकेका स्थानमा प्रक्रिया सुरु गर्न परिपत्र गरिसकेको छ ।
प्रतिक्रिया 4