News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ।
- साउनमा आयात १ खर्ब ८७ अर्ब ४४ करोड र निर्यात ३८ अर्ब ७० करोड पुगेकाले व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड भएको छ।
- साउनमा कच्चा सोयाबिन तेल १८ अर्ब ४० करोड, डिजेल १३ अर्ब ८५ करोड र खाना पकाउने ग्यास ८ अर्ब ४६ करोडको आयात भएको छ।
- भारतसँग नेपालको सबैभन्दा धेरै व्यापार भएको छ, जहाँबाट १ खर्ब २ अर्बको आयात र ३३ अर्ब २६ करोडको निर्यात भएको छ।
५ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै वैदेशिक व्यापारमा उछाल देखिएको छ ।
भन्सार विभागका अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ बराबर पुगेको छ ।
गत आवको यसै महिनामा वैदेशिक व्यापारको आकार १ खर्ब ६६ अर्ब ९७ करोड थियो । यस वर्ष आयात र निर्यात दुवै ह्वात्तै बढेको अवस्था छ । विभागका अनुसार साउनमा वस्तु आयात १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ । जुन अघिल्लो आवको साउनको तुलनामा ३१.०४ प्रतिशत धेरै हो । सो वर्ष साउनमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
यस वर्ष साउनमा निर्यात ३८ अर्ब ७० करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ६१.७२ प्रतिशत धेरै हो । गत साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा समेत उल्लेख्य बढेको छ ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १७.११ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा पोहोरको तुलनामा १९.४१ प्रतिशतले बढेको हो । आयातको हिस्सा ३.२५ प्रतिशतले घटेर ८२.८९ प्रतिशत कायम भएको छ ।
साउनमा कुल वैदेशिक व्यापारको आकारसँगै व्यापार घाटा समेत बढेको छ । यस महिनामा कुल व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड बराबर रहेको छ । जुन अघिल्लो साउनको तुलनामा २४.८८ प्रतिशत धेरै हो । आयातको आकार बढ्दा व्यापार घाटा समेत वृद्धि भएको हो । गत वर्ष साउनमा १ खर्ब १९ अर्ब १० करोड बराबर व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।
ग्यास आयातमा दोब्बर खर्च
तथ्यांक केलाउँदा यस वर्ष खाना पकाउने ग्यास आयातमा गत आवको साउनको तुलनामा दोब्बर खर्च भएको छ । गत साउनमा ग्यास आयातमा ४ अर्ब ६६ करोड खर्च भएको थियो । सो वर्ष साउनमा ४ करोड ४३ लाख केजी बराबर ग्यास आयात भएको थियो ।
यस वर्ष साउनमा भने ८ अर्ब ४६ करोड रुपैयाँ बराबरको ग्यास आयात भएको छ । ग्यास आयात कुल ५ करोड ७३ लाख केजी बराबर भएको तथ्यांकले देखाएको छ । यस आर्थिक वर्ष ग्याससहित इन्धन आयातमा एक महिनामै ३५ अर्ब ९ करोड खर्च भइसकेको छ । गत आवको पहिलो महिनामा इन्धन आयातमा २१ अर्ब ९९ करोड मात्र खर्च भएको थियो ।

यस वर्ष धेरै आयात हुने वस्तुहरूको दोस्रो स्थानमा वनस्पती तथा जनावरको घिउ तेल रहेको छ । जुन २३ अर्ब ६२ करोड बराबरको आयात भएको छ ।
मल आयातमा पहिलो महिनामै १२ अर्ब ३७ करोड खर्च भइसकेको देखिन्छ । साउनमा ११ अर्ब ७२ करोडको सवारी साधन भित्रिएको छ । अघिल्लो वर्ष साउनमा मल आयात ६ अर्ब ९७ करोड र सवारी साधनको आयात ८ अर्ब १ करोड रुपैयाँ बराबरको मात्र थियो ।
यस वर्ष पूँजीगत खर्चमा बढी प्रयोग हुने आइरन र स्टीलको आयात साउनमा १० अर्ब ११ करोड बराबर भएको छ । गत आवको साउनमा यो वस्तु आयात ११ अर्ब ९ करोडको भएको थियो ।
ग्यास र डिजेल भन्दा धेरै सोयाबिन तेल आयात
साउनमा आयात भएका वस्तुमा सबैभन्दा अगाडि कच्चा सोयाबिन तेल छ । जुन १८ अर्ब ४० करोड बराबरको भित्रिएको छ । डिजेल १३ अर्ब ८५ करोडको भित्रिएको देखिएको छ । खाना पकाउने ग्यास ८ अर्ब ४६ करोडको भित्रिएको छ । डीएपी मल ७ अर्ब ८६ करोडको भित्रिएको तथ्यांक भन्सार विभागको छ ।
पेट्रोल ६ अर्ब ८८ करोडको मात्र भित्रिएको छ । पहिलो महिनामा स्मार्ट फोनको आयात ३ अर्ब ८७ करोड बराबरको भएको छ । १ अर्ब २० करोडको ल्यापटप र नोटबुक आयात भएको छ । सुन आयात १ अर्ब १ करोड बराबरको भएको छ ।
निर्यातमा वनस्पति तेलको अग्रता कायमै
पछिल्ला वर्षहरूमा निर्यातमा वनस्पति तेलको अग्रता देखिन्छ । तेस्रो मुलुकबाट कच्चा तेल नेपाल भित्र्याएर प्रशोधन गरी भारततर्फ यसको निर्यात हुन्छ । भन्सार विभागका अनुसार साउनमा १७ अर्ब ९९ करोड बराबरको सोयाबिन तेल निर्यात भएको छ ।
पाम आयल १ अर्ब २९ करोड र सूर्यमुखी तेलको निर्यात १ अर्ब २० करोड बराबर भएको छ । स्टिलको निर्यात १ अर्ब १५ करोड बराबर भएको छ । जुट १ अर्ब ६ करोड र कार्पेटको निर्यात ८४ करोड बराबरको भएको छ । पहिलो महिनामा अलैँची निर्यात ६७ करोड बराबरको भएको तथ्यांक छ ।
भारतसँग सर्वाधिक व्यापार
पहिलो महिनामा नेपालको वैदेशिक व्यापार १०७ भन्दा धेरै मुलुकसँग भएको छ । यसमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटा भारतसँग रहेको छ। भारतबाट नेपालले साउनमा मात्र १ खर्ब २ अर्बको वस्तु आयात गरेको छ ।
यस मुलुकमा ३३ अर्ब २६ करोडको वस्तु निर्यात भएको छ । कुल व्यापार घाटा ६९ अर्ब १८ करोड बराबर छ । चीनबाट नेपालमा ३१ अर्ब ७४ करोडको वस्तु आयात भएको छ ।
नेपालबाट चीनतर्फ भने मात्र २१ करोडको वस्तु निर्यात भएको छ । अर्जेन्टिना तेस्रो व्यापार साझेदार मुलुक बनेको छ ।
यस मुलुकबाट १३ अर्ब ८५ करोडको सामान आयात भएको छ । साउदी अरेबिया चौथो स्थानमा छ । यस मुलुकबाट ४ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । रुसबाट ४ अर्ब १३ करोडको वस्तु भित्रिएको छ । अमेरिकाबाट ३ अर्ब ३४ करोडको वस्तु आयात भएको छ ।
प्रतिक्रिया 4