६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता प्रदीप गिरिलाई आलोचना र समर्थनको अतिवादभन्दा माथि रहेर आफ्ना विचार राख्ने नेताका रूपमा स्मरण गरेका छन् ।
राजनीतिक चिन्तक प्रदीप गिरिको चौथो वार्षिकीको अवसरमा शनिबार सानेपामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कांग्रेसभित्र अहिले आलोचना र निन्दाबीचको भिन्नता छुट्याउन नसक्ने र प्रश्नरहित पूर्णसमर्थन गर्ने प्रवृत्ति रहेको सभापति थापाले बताए । उनका अनुसार नेता गिरि यी दुवै प्रवृत्तिभन्दा अलग थिए ।
‘हामीले एउटा एक्स्ट्रिममा पुगेर आलोचना र निन्दाबीचको फरक छुट्याउन छोडेका छौं, एकैचोटि निन्दामा पुग्छौं । अर्को कोणमा फेरि एकैचोटि पूर्णसमर्थनमा पुग्छौं, जहाँ कुनै प्रश्न नै हुँदैन,’ सभापति थापाले भने, ‘प्रदीप गिरि यी दुवैभन्दा पर हुनुहुन्थ्यो ।’
पार्टी बैठकहरूमा नेता गिरिसँगै काम गरेको स्मरण गर्दै सभापति थापाले अन्य नेताहरूले बैठकमा के धारणा राख्छन् भन्ने पहिले नै अनुमान गर्न सकिने भए पनि गिरिको हकमा त्यस्तो अनुमान गर्न नसकिएको पनि स्मरण गरे ।
‘अरूको बारेमा अनुमान गर्न सकिन्थ्यो, दायाँपट्टि बसेको हो कि बायाँपट्टि, अहिले सभापतिको पक्षमा बोल्छ कि यता बोल्छ भन्ने,’ थापाले भने, ‘तर, प्रदीप गिरि बोल्न उठ्दै गर्दा उहाँले के बोल्नुहुन्छ भन्ने अनुमान नै गर्न सकिँदैनथ्यो ।’
गिरिको यही स्वतन्त्र विचार र वैचारिक स्वभावले उनलाई सबैमाझ विशिष्ट बनाएको सभापति थापाको भनाइ थियो । उनी भित्रैदेखि बोल्ने र आफ्नै निश्चित सिद्धान्तमा उभिने नेता भएको थापाले बताए ।
प्रतिक्रिया 4