+
+
Shares

बालिकामाथि बढ्दो हिंसाप्रति सिजपको चिन्ता, दोषीमाथि कारबाहीको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते ८:४६

७ भदौ, काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका तथा किशोरीमाथि हुने बलात्कार, यौन दुर्व्यवहार, हिंसा र अनलाइन हिंसाका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याप्रति दुःख व्यक्त गर्दै सिजपले घटनाको निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

सिजपले पीडित तथा उनका परिवारलाई न्यायसँगै निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । साथै, बालबालिकाले घर, विद्यालय, सार्वजनिक स्थल र अनलाइनमा सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार र शोषणका घटनाको प्रभावकारी छानबिनका लागि उच्चस्तरीय समन्वय वा राष्ट्रिय बाल अधिकार आयोग गठन गर्नुपर्ने माग पनि सिजपले गरेको छ । स्थानीय तह र विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता तथा अभिभावक शिक्षालाई प्रभावकारी बनाउन पनि उसले आग्रह गरेको छ ।

सिजपले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको गोपनीयता तथा सम्मानको अधिकारप्रति संवेदनशील बन्न अपिल गरेको छ । पीडित बालबालिकाको पहिचान खुल्ने तस्बिर, नाम वा व्यक्तिगत विवरण सार्वजनिक नगर्न तथा घटनाका विभत्स दृश्य सामाजिक सञ्जालमा शेयर वा प्रसार नगर्न उसले आग्रह गरेको हो ।

‘बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाजको साझा जिम्मेवारी हो,’ सिजपले भनेको छ, ‘हरेक बालबालिकाले भय, हिंसा र दुर्व्यवहारमुक्त वातावरणमा सुरक्षित, सम्मानित र मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ ।’

सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेले जारी गरेको विज्ञप्तिमा यस्ता घटनाको प्रभावकारी अनुगमन र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?