+
+
Shares

निजी यात्रामा आएका प्रधानमन्त्रीसँग भेट्न पाएनन् मुस्ताङीले

सुरक्षाको सबै जिम्मेवारी सेनालाई दिएर बालेन धादिङ र बागलुङमा सेनाको ब्यारेकमा छिरे । तर जनतासँग भेटेनन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ भदौ ८ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले निजी भ्रमणका क्रममा मुस्ताङको ओम्स होटलमा बसेर राति ८ बजेतिर मात्रै मुक्तिनाथ दर्शन गरी कसैलाई भेटेनन्।
  • बालेनको निजी भ्रमणमा कास्की, बागलुङ, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीसँग समन्वय नभएको र सुरक्षा जिम्मेवारी नेपाली सेनाले मात्रै सम्हालेको बताइएको छ।
  • जोमसोममा स्वागतका लागि खादा लिएर बसेका पुथाङ आमा समूहका महिलालाई प्रधानमन्त्रीले भेटेनन्, र फोटो तथा भिडियो खिच्न नदिइएको समेत बताइएको छ।

८ भदौ, पोखरा । प्रधानमन्त्री बालेन शाहलाई स्वागत गर्न शनिबार जोमसोमको ओम्स होटल बाहिर स्थानीयहरू हातमा खादा लिएर बसेका थिए । तर, स्वागतका लागि बसेका पुथाङ आमा समूहका महिलाहरूलाई छलेर प्रधानमन्त्री बालेन पछाडिको ढोकाबाट होटलभित्र छिरे ।

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि उनीहरू केहीबेर बाहिर उभिएर फर्किए । मुस्ताङमा पाहुनालाई खादा लगाइदिएर स्वागत गर्ने प्रचलन छ । प्रधानमन्त्रीको स्वागतमा बसेका महिलाहरू भने निराश भएर फर्किएका थिए ।

ओम्स होटलमा बास बसेका प्रधानमन्त्री मुक्तिनाथ दर्शन गर्न पनि राति ८ बजेतिर मात्रै गएका थिए । वैकल्पिक बाटो हुँदै मन्दिरको छेउसम्मै गाडीमा पुगेका बालेनले मुक्तिनाथ दर्शन गरेका थिए । मुक्तिनाथको मूल मन्दिरमा पूजा गरेर कसैलाई नभेटी प्रधानमन्त्री होटल फर्किएका थिए ।

प्रधानमन्त्री बालेन बसेको त्यही होटल हो, जहाँ सन् १९९१ मा बलिउड अभिनेता अमिताभ बच्चन बसेका थिए । ‘खुदा गवाह’ नामको फिल्म सुटिङका लागि अमिताभ ओम्स होममा बस्दा विष्णुराज हिराचनले खिचेको तस्वीर भित्तामै टाँगिएको थियो ।

प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक निजी भ्रमणमा निस्किएका बालेनले सेनासँग मात्रै समन्वय गरेका थिए । सुरक्षाको सबै जिम्मेवारी सेनालाई दिएर बालेन धादिङ र बागलुङमा सेनाको ब्यारेकमा छिरे । तर जनतासँग भने भेटेनन् ।

प्रधानमन्त्री बालेन २ दिन पोखरामा बास बसे भने १ रात जोमसोममा बिताएर काठमाडौं फर्किएका छन् । स्थलमार्ग हुँदै आएका प्रधानमन्त्री सोमबार बिहान विमान चढेर काठमाडौं फर्किएका छन् ।

पोखरामा शुक्रबार माछापुच्छ्रे गाउँपालिकाको अन्नपूर्ण इको भिलेजमा बास बसे भने शनिबार जोमसोमको ओम्स होटलमा बसे ।

आइतबार प्रधानमन्त्री बालेन पर्यटन मन्त्री खडकराज पौडेल ‘गनेस’को मजेरी मञ्जिल रिसोर्टमा बास बसेर सोमबार बिहान बुद्ध एयरको जहाजबाट काठमाडौं फर्किएका हुन् ।

प्रधानमन्त्री बालेन काठमाडौंको मेयर भएका बेला पोखरा आउँदा पनि यही रिसोर्टमा बसेका थिए ।

प्रधानमन्त्रीको निजी भ्रमणको सुरक्षाको जिम्मेवारी सबै नेपाली सेनाले नै सम्हालेको थियो । बालेन जिल्लामा आउँदा पनि जिल्ला सुरक्षा समितिको नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी नै अनविज्ञ बनेका थिए । कास्की, बागलुङ, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरूले आफूहरुसँग प्रधानमन्त्रीको भ्रमणमा समन्वय नभएको बताएका छन् ।

निजी भ्रमण भनिएकाले चासो पनि नदिइएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । बालेन बागलुङको २३ नम्बर बाहिनी अड्डामा छिरेर खाना खाएर गएका थिए । अड्डामा छिर्दा पत्रकार खेमराज गौतमले तस्वीर खिचेका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आवश्यक सुरक्षा व्यवस्थापन गरिएको भए पनि निजी भ्रमण भएकाले समन्वयमा जोड नदिइएको बताइन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले खबर नै निजी भ्रमण भनेर भएकाले सुरक्षा समितिले धेरै चासोका साथ नहेरेको बताए ।

अति विशिष्टहरूको भ्रमणमा जिल्ला सुरक्षा समितिले व्यवस्थापन गर्ने गरेको थियो । सम्पूर्ण जिम्मेवारी गृह मन्त्रालयको निर्देशनमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले सम्हाल्ने कार्यविधिमा छ । तर अहिले सीडीओहरूले नै अनविज्ञता प्रकट गरिरहेका थिए ।

औपचारिक, अनौपचारिक र निजी भ्रमणका रूपमा कार्यविधिमा उल्लेख गरिएको भए पनि प्रधानमन्त्रीको निजी भ्रमण भन्दै प्रहरी र प्रशासनसँग यस पटक समन्वय नगरिएको हो ।

प्रधानमन्त्रीको सुरक्षामा चार वटै सुरक्षा निकायलाई समन्वय गरेर छुट्टाछुट्टै जिम्मेवारीसहितको घेरा तयार पारिन्छ । प्रधानमन्त्रीको सबैभन्दा भित्री घेरा नेपाली सेनाको विशेष तालिमप्राप्त टोली अत्याधुनिक हतियारसहित तैनाथ हुन्छ । नेपाली सेनाभन्दा बाहिरको घेरामा नेपाल प्रहरीका पोसाकधारी तथा सादा पोसाकका कमान्डो र अधिकारीहरू सुरक्षार्थ खटिएका हुन्छन् ।

तेस्रो घेरा बाहिरी सुरक्षा, भिड नियन्त्रण, कार्यक्रमस्थलको घेराबन्दी र प्रधानमन्त्रीको सवारी मार्ग (कारकेड) को स्कर्टिङको जिम्मेवारी सशस्त्र प्रहरीले सम्हाल्छ ।

चौथो घेरा (राष्ट्रिय अनुसन्धान विभाग) प्रधानमन्त्री पुग्ने स्थान र वरपरको क्षेत्रमा कुनै सुरक्षा खतरा छ कि भनी सादा पोसाकमा गुप्तचरहरू खटाएर सूचना संकलन र विश्लेषण गरिन्छ ।

प्रधानमन्त्री जिल्लामा आउनुअगावै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर सुरक्षा चुनौती विश्लेषण गरिने भए पनि यस पटक निजी भ्रमण भनेर कुनै समन्वय नै नभएको हो ।

प्रधानमन्त्री बालेन आफैं गाडी चलाएर मुस्ताङ गएका थिए । निजी भ्रमणमा ठूलो साधन र स्रोतको खर्च नगरेको भन्दै कतिपयले प्रशंसा गरेको भए पनि कतिपयले सुरक्षा समन्वयको नाममा सबैलाई बेवास्ता गरिनुलाई गम्भीर विषयका रूपमा हेरेका छन् ।

प्रधानमन्त्रीको भ्रमण निजी नहुने भन्दै सामाजिक सञ्जालमा आवाजसमेत उठिरहेको छ । नागरिकसँग संवाद गर्ने, जनताका कुरा सुन्ने कामलाई पाखा लगाइरहेका प्रधानमन्त्री बालेनलाई नागरिकले भेट्नसमेत खोजेका थिए ।

मुस्ताङमा स्वागत गर्न लाइनमै बसेका स्थानीयलाई बालेनले बेवास्ता गरे भने कास्कीमा पनि उनलाई स्थानीयले भेट्न खोजेका थिए । प्रधानमन्त्री बालेनको निजी भ्रमणको भिडियो खिचेको भन्दै कास्कीका पत्रकार सुरेश सुनारलाई भिडियोसमेत डिलिट गर्न लगाइएको थियो । प्रधानमन्त्री मझेरी मञ्जिलमा बसेका छन् भन्ने थाहा पाएपछि गएर भिडियो खिचेको सुनारले सुनाए ।

‘प्रधानमन्त्री नै आउँदा त फोटो, भिडियो खिच्नुपर्छ भनेर खिचिरहेका थियौं । एक जना बोल्दै आए र निजी भ्रमणको भिडियो नखिच्न र डिलिट गर्न भन्नुभयो,’ सुनारले भने, ‘तर समन्वय गरिदिनुस्, भिडियो हटाउनुस् भनेपछि हटाएँ ।’ ओम्स होटल र अन्नपूर्ण इको भिलेजमा पनि फोटो खिच्न दिइएको थिएन ।

तस्वीरहरू: सुन्दरकुमार थकाली (मुस्ताङ), खेमराज गौतम (बागलुङ)

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?