News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपूर्वको पुथा उत्तरगंगा–६ मा म्याङ खोलामा पुल नहुँदा स्थानीयले वर्षायाममा काठका अस्थायी साँघु बनाएर आवतजावत गर्न बाध्य छन्।
- वडाध्यक्ष संखे सेनका अनुसार साउनमा मात्रै बाढीले ७ पटक अस्थायी साँघु बगाएको छ र विद्यार्थी, बिरामी तथा स्थानीयलाई सास्ती भइरहेको छ।
- स्थानीयले विद्यार्थी, बिरामी र दैनिक आवतजावत गर्ने नागरिकको जोखिमपूर्ण यात्रा अन्त्य गर्न म्याङ खोलामा तत्काल स्थायी पुल निर्माणको माग गरेका छन्।
९ भदौ, रुकुमपूर्व। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-६ का स्थानीयवासीलाई वर्षायाममा म्याङ खोला पार चुनौतीको विषय हो । शहीद मार्गअन्तर्गत पर्ने यो खोलामा पुल नहुँदा खोला बढेपछि स्थानीय काठका अस्थायी साँघु बनाएर वारपार गर्छन्। तर, बाढीले साँघु पनि बगाइदिन्छ । उनीहरू फेरि बनाउँछन्, खोलाले फेरि बगाउँछ । यो क्रम दोहोरिरहन्छ ।
सडकमा सवारीसाधनको पहुँच बढ्दै गए पनि आवश्यक ठाउँमा पुल नहुँदा स्थानीयको यात्रा भने सहज हुन सकेको छैन। गत जेठ महिनादेखि यस क्षेत्रमा सवारीसाधन चल्न थालेका छन्। तर, वर्षायाममा म्याङ खोलाको बहाव बढ्दा सडक हुँदै यात्रा गर्ने यात्रु र स्थानीय दुवै जोखिममा पर्ने गरेका छन्।
पुथा उत्तरगंगा–६ का वडाध्यक्ष संखे सेनका अनुसार स्याङ खोलाबाट आएको बाढीले म्याङ खोलाको बहाव बढाउने गरेको छ। उनका अनुसार साउन महिनामा मात्रै बाढीले ७ पटक काठका अस्थायी साँघु बगाइसकेको छ। ‘गाउँका युवाहरू मिलेर साँघु हाल्छन्। बाढी आएपछि बगाउँछ। फेरि साँघु बनाउनुपर्छ’, सेनले भने, ‘वर्षायाममा विद्यार्थी, बिरामी र दैनिक कामका लागि आवतजावत गर्ने नागरिकले निकै सास्ती खेप्नुपर्छ।’
स्थायी पुल नहुँदा स्थानीय युवाहरू मिलेर काठ जोडेर अस्थायी साँघु बनाउँदै आएका छन्। वर्षायाममा खोलाको बहाव बढेपछि साँघु बग्ने र आवतजावत रोकिँदा स्थानीयलाई दैनिक कामका लागि समेत समस्या हुने गरेको छ।
पुथा उत्तरगंगा–५ की रबिना घर्तीमगरका लागि यो समस्या बर्सेनि दोहोरिने बाध्यता हो। ‘सडक बनेको छ, गाडी पनि चल्न थालेका छन्। तर खोला आएपछि फेरि हिँड्नै डर लाग्छ’, उनले भनिन्।

उनका अनुसार अस्थायी साँघुमा भर पर्दा सामान ओसारपसारदेखि बिरामीलाई अस्पताल लैजानसमेत समस्या हुने गरेको छ। ‘बिरामी परेको बेला खोला बढ्यो भने झन् अप्ठ्यारो हुन्छ। गाउँका मानिस मिलेर जसरी भए पनि पार लगाउनुपर्छ। हामीलाई सडकभन्दा पहिले पुल चाहिएको हो’, घर्तीमगरले भनिन्।
म्याङ खोला पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न वडालाई जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्छ। यही सडक हुँदै वडा नम्बर १, २, ३, ४, ५ र ६ का नागरिक आवतजावत गर्छन्।
वर्षायाममा खोलाको बहाव बढेपछि पुलको अभावले यातायातको सुविधा नै जोखिममा पर्ने गरेको छ। ‘सवारी चल्न थालेपछि गाउँबाट बाहिर जान र सामान ल्याउन सजिलो हुन्छ भन्ने लागेको थियो। तर वर्षा लागेपछि खोलाले बाटो छेक्छ’, घर्तीमगरले भनिन्, ‘पुल बनेपछि मात्रै सडक बनेको अनुभूति हुन्छ।’
कात्तिकपछि सहज

वडाध्यक्ष सेनका अनुसार कात्तिकको पहिलो सातापछि म्याङ खोलाको बहाव घट्ने भएकाले आवतजावत केही सहज हुन्छ। तर वर्षा सुरु भएपछि हरेक वर्ष उस्तै समस्या दोहोरिने गरेको छ। ‘बर्सेनि यही खोलाले नागरिकलाई दुःख दिइरहेको छ। अस्थायी साँघु बनाएर मात्रै समस्या समाधान हुँदैन’, सेनले भने।
उनका अनुसार म्याङ खोलामा झोलुङ्गे पुल निर्माणका लागि वडा तहमा पर्याप्त बजेट छैन। प्रदेश र संघीय सरकारले आवश्यक बजेट तथा प्राथमिकता नदिँदा पुल निर्माण हुन नसकेको उनको भनाइ छ। ‘वडाको बजेटले मात्रै पुल बनाउन सम्भव छैन। प्रदेश र संघीय सरकारले चासो दिएर बजेट व्यवस्था गर्नुपर्छ। पुल बनेपछि धेरै वडाका नागरिकलाई सहज हुन्छ’, सेनले भने।
स्थानीयका अनुसार सडकमा सवारीसाधनको पहुँच बढे पनि म्याङ खोलामा पुल नहुँदा वर्षायाममा सडकको सुविधा अधुरोजस्तै बनेको छ। हरेक वर्ष काठको साँघु बनाउने, बाढीले बगाउने र फेरि बनाउने चक्रले स्थानीयलाई जोखिम र झन्झट दुवै थपिरहेको छ।
स्थानीयले म्याङ खोलामा तत्काल स्थायी पुल निर्माण गरी विद्यार्थी, बिरामी, किसान र दैनिक आवतजावत गर्ने नागरिकको जोखिमपूर्ण यात्रा अन्त्य गर्न माग गरेका छन्। सडकले गाउँलाई जोड्न थाले पनि पुल नहुँदा वर्षायाममा त्यही सडक स्थानीयका लागि सहज यात्राको बाटोभन्दा बढी जोखिमको बाटो बन्ने गरेको छ।
प्रतिक्रिया 4