News Summary
Generated by OK AI. Editorially reviewed.- ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् सर्ट भएर मंगलबार साँझ लागेको आगलागीमा दुई घर पूर्ण रूपमा नष्ट भएका छन्।
- स्थानीय कोटमाया कार्कीको घरबाट सुरु भएको आगो फैलँदा बुहारी ज्ञानकुमारी कार्कीको घरमा पनि क्षति पुगेको छ।
- आगलागीबाट करिब २६ लाख रुपैयाँको क्षति भएको छ भने मानवीय र चौपाया क्षति भएको छैन।
१० भदौ, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मंगलबार साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।
उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब १४ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।
प्रतिक्रिया 4