+
+
Shares

त्रिशूली अस्पताल सुरक्षित, बाढीका घाइतेहरू आउन थाले

रसुवा–नुवाकोट क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला त्रिशूली अस्पताल भने हालसम्म सुरक्षित रहेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १३:४७
फाइल तस्वीर

१० भदौ, काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला त्रिशूली अस्पताल भने हालसम्म सुरक्षित रहेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले बताएका छन् ।

उनका अनुसार अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीसमेत सुरक्षित छन् ।

यता, बाढीमा परेर घाइते भएका दुई जना भने उपचारका लागि अस्पताल आइपुगेका छन् । तुप्चेबाट आएका दुवैको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डा. लामाले जानकारी दिए ।

‘तुप्चेबाट आएका दुई जना घाइतेको खुट्टामा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य छ । उपचार भइरहेको छ । अब बिरामी आउने संख्या बढ्न सक्छ,’ उनले अनलाइनखबरसँग भने ।

बाढीबाट प्रभावित भएर मात्र होइन, मानिसहरू आत्तिएर लड्दा समेत घाइते भएका व्यक्तिको उद्धार जारी रहेकाले थप घाइते अस्पतालमा आउन सक्ने डा. लामाले बताए ।

अस्पताल हालसम्म सुरक्षित रहे पनि आसपासको क्षेत्रमा बाढीको जोखिम भने बढिरहेको उनले बताए ।

‘अझै ठूलो बाढी आयो भने के हुन्छ भन्न सकिँदैन । अहिलेसम्म अस्पताल सुरक्षित नै छ,’ उनले भने ।

बाढीको जोखिम थप बढेमा अस्पतालमा रहेका बिरामीलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ ।

अस्पतालभन्दा अग्लो स्थानमा रहेका विद्यालयमा बिरामीलाई स्थानान्तरण गर्ने योजना रहेको डा. लामाले बताए । त्यसका लागि प्रमुख जिल्ला अधिकारी तथा प्रदेश सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

बाढीका कारण अस्पतालको विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ । नियमित विद्युत् आपूर्ति नभएपछि अस्पताल डिजेलबाट जेनेरेटर सञ्चालन गरिरहेको छ । तर, मौज्दात डिजेलले कति समय धान्ने भन्ने निश्चित नरहेको डा. लामाले बताए ।

नेटवर्क सेवासमेत प्रभावित भएकाले अस्पतालको बाह्य सम्पर्कमा समस्या भइरहेको उनले जानकारी दिए । यद्यपि, अस्पतालमा उपचार सेवा भने सञ्चालनमै रहेको उनको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले थप घाइते तथा बिरामी अस्पतालमा आउन सक्ने अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?