News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका १३५ जनाको शव तनहुँ, गोरखा र नवलपुरका त्रिशूली तटीय क्षेत्रमा बुधबार र बिहीबार भेटिएको छ ।
- पोखराका अस्पतालमा ७२ शव व्यवस्थापन गर्ने क्षमता भए पनि अहिले ६५ जनासम्म राख्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
- नवलपुरमा ८१, गोरखामा ३२ र तनहुँमा २२ शव फेला परेको प्रदेश प्रहरी प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
११ भदौ, पोखरा । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १३५ जनाको शव तनहुँ, गोरखा र नवलपुरमा भेटिएको छ । त्रिशूली नदीको तटीय क्षेत्रमा यी शव बुधबार र बिहीबार भेटिएका हुन् ।
तनहुँमा भेटिएका ९ वटा शव व्यवस्थापनका लागि पोखरा ल्याइएको छ । बुधबार नै तनहुँमा यी शव भेटिएका थिए । तर व्यवस्थापन गर्ने शवगृहको अभावले समस्या उत्पन्न भएको थियो ।
धमाधम तटीय क्षेत्रमा शव फेला पर्न थालेपछि तनहुँमा व्यवस्थापनमा सकस परेको हो । अहिले पनि तनहुँमा भेटिएका २२ शवमध्ये तनहुँ जिल्ला अस्पताल, जीपी कोइराला मेमोरियल अस्पताल र चितवनमा समेत गरी १२ जनाको शव व्यवस्थापन गरिएको छ ।
अहिले गोरखामा भेटिएका १० वटा शव पोखरा ल्याइँदै छ । त्रिशूलीका तटीय क्षेत्रमा भेटिएका शव व्यवस्थापनमै सकस परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा जतिसक्दो धेरै शव व्यवस्थापनको तयारीमा लागेको थियो ।
अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती शव राख्ने व्यवस्था मिलाइएको छ भने त्यहाँबाट यहाँका अन्य निजी अस्पतालहरूमा पनि क्षमताअनुसार शव राख्ने तयारी गरिएको छ ।
अहिलेसम्म सबैभन्दा बढी नवलपुरमा ८१ जनाको शव फेला परेको छ । गोखरामा ३२ र तनहुँमा २२ वटा गरी १३५ वटा शव फेला गरेको प्रदेश प्रहरी प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले गृह मन्त्रालयकै समन्वय र शव व्यवस्थापन कार्यविधिअनुसार अन्य जिल्लामा क्षमता कम भएकाले पोखरा ल्याइएको हो ।
धेरै जनाको शव भेटिएर चितवनमा व्यवस्थापनमा समस्या भएपछि पोखराका विभिन्न अस्पतालमा ल्याएर शव व्यवस्थापन गरिने सीडीओ गुरुङले अनलाइनखबरसँग बताए ।
पोखरामा ७२ जनाको शव व्यवस्थापन गर्ने क्षमता भए पनि यहाँ अहिले नै केही शव रहेकाले ६५ जनासम्मलाई राख्न सकिने गुरुङले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६०, गण्डकी मेडिकल कलेजमा ४, मणिपाल शिक्षण अस्पतालमा ८ जनाको अव राखिने छ । यसैगरी पोखराको चरक मेमोरियल अस्पताल, फेवा सिटी, फिस्टेल अस्पतालमा २–२ जनाको शव राख्ने तयारी गरिएको छ ।
प्रतिक्रिया 4