+
+
Shares

कांग्रेसका सांसदहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितका लागि आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
  • संसदीय दलको बैठकले विपद् प्रभावित क्षेत्रमा स्थलगत अनुगमन, मृतकप्रति श्रद्धाञ्जली र संसदको अधिवेशन तत्काल सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
  • प्रमुख सचेतक बासना थापाले राहत वितरणमा ‘एकद्वार प्रणाली’ सफल भए पनि वितरणमा समस्या देखिएको बताउँदै जिम्मेवारी स्थानीय र प्रदेश सरकारलाई दिनुपर्ने धारणा राख्नुभयो।

१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै राहत र पुनर्स्थापनाका लागि पार्टीले यो कदम चालेको जानकारी दिएकी हुन् ।

बैठकमा विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका नेता तथा सांसदहरूले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराउनुका साथै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । बैठकले संसदको अधिवेशन तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रमुख सचेतक थापाकाअनुसार सदनमार्फत नै जनताका समस्याहरूलाई सरकारसमक्ष पुर्‍याउन र बेपत्ता भएका व्यक्तिहरूको खोजतलासका लागि जिल्ला–जिल्लाबाट सूचना संकलन गर्न सहज हुने भएकाले सदन खुलाउन जरुरी देखिएको हो । यसबारे सभामुखसँग समेत छलफल गरिने उनले बताइन् ।

स्थलगत अनुगमनका सन्दर्भमा कांग्रेसले आफ्ना सांसदहरूलाई प्रभावित क्षेत्रमा जाँदा उद्धार कार्यमा बाधा नपुग्ने गरी, भीडभाड नगरी र आवश्यक समन्वयका साथ मात्र जान निर्देशन दिएको छ ।

राहत वितरणको प्रभावकारिताबारे बोल्दै थापाले हाल कायम रहेको ‘एकद्वार प्रणाली’ राहत संकलनमा सफल देखिए पनि वितरणमा भने समस्या देखिएको टिप्पणी गर्नुभयो ।

‘कुन क्षेत्रमा कति क्षति भयो र कुन परिवारलाई कस्तो सहयोग आवश्यक छ भन्ने विस्तृत विवरण स्थानीय तहसँग मात्र हुन्छ । त्यसैले राहत वितरण र तथ्याङ्क संकलनको पूर्ण जिम्मेवारी स्थानीय र प्रदेश सरकारलाई दिनु उपयुक्त हुन्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?