+
+
Shares

बाढीपीडितलाई एमालेले कम्तीमा एक करोड २० लाख राहत दिन्छ : केपी शर्मा ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १५:२०

१५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने बताएका छन् । सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट उपलब्ध राहत बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘राजधानी र बागमती प्रदेशले १०/१० लाख गरी २० लाख रुपैयाँ बुझाउनुभएको छ । सबै गरेर एक करोड २० लाख संकलन गर्छौं,’ अध्यक्ष ओलीले भने, ‘पार्टीको केन्द्रीय कोषबाट कम्तीमा त्यो खर्च गर्छौं ।’

एमालेले उक्त रकम आफै पीडितसमक्ष पुर्‍याउने कि सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने भन्ने अन्योल रहेको उनले सुनाए ।

‘सरकारकहाँ पुर्‍याए कोषमा परिराख्या छ । पीडितले पानी खान नपाएर ओठमुख सुकेका छन् । त्यसकारण हाम्रो अगाडि एउटा गम्भीर प्रश्न छ–  साँच्चै पीडितकहाँ पुर्‍याउने कि सरकारको कोषमा देखाउने ?,’ उनले भने ।

सरकारको कोषमा पैसा जम्मा नभए एमालेले दिएन भन्ने हल्ला चल्ने पनि उनले बताए । उनले भने, ‘एउटा चर्चा चल्छ, सरकारको कोषमा देखिएन भने अरूले कोषमा पठाए, एमालेले पठाएन भन्ने ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री कोषलाई बलियो बनाउने पैसा नचाहिएको बताउँदै त्यो कोष पनि पीडितलाई राहत पुर्‍याउन बनाइएको टिप्पणी गरे ।

‘पीडितकहाँ कुन माध्यमबाट छिटो छरितो ढंगले यथार्थ पीडितकहाँ राहत पुग्छ हामी त्यही बाटो पुर्‍याउँछौं,’ उनले भने ।

एमालेले विपद्को उद्धार तथा राहतमा सक्दो प्रयास गरिरहेको र अझै गर्ने उनले बताए । अरूलाई पनि यस्तो विपत्तिका बेला दिल खोलेर सहयोग गर्नु आग्रह गरे ।

विपद्मा एमालेले सरकारसँग समन्वय गरेरै काम गर्न चाहेको अध्यक्ष ओलीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?