News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढी र पहिरो प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि वैदेशिक रोजगार व्यवसायीहरूले १ करोड ५० लाख रुपैयाँ संकलन गरेका छन्।
- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा ५२० भन्दा बढी व्यवसायी, संस्था, शाखा र विदेशी साझेदार संस्थाले सहयोग अभियानमा सहभागिता जनाएका छन्।
- संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
१६ भदौ, काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि वैदेशिक रोजगार व्यवसायीहरूले डेढ करोड रुपैयाँ सहयोग जुटाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा सञ्चालन गरिएको सहयोग अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी साझेदार संस्थासहित ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको संघले जनाएको छ । सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघको भनाइ छ ।
संकलित १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।
संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र संघका सल्लाहकारहरूको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न घटक संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
संघले संकलित रकम सरकारी राहत कोषमा जम्मा भइ विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा प्रयोग हुने अपेक्षा गरेको छ । मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ । अभियानमा व्यवसायीहरूले देखाएको एकता, सद्भाव र उदार सहयोगप्रति संघले आभार व्यक्त गरेको छ ।
संघका अनुसार सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिइनेछ । अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी सहयोगी संस्थाको योगदानको अभिलेख राखी सम्बन्धित विवरण व्यवसायीहरूलाई समेत उपलब्ध गराइने संघले जनाएको छ।
प्रतिक्रिया 4