News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा बाढीपछि सुरुङभित्र फसेका भनिएका ३ सयभन्दा बढी मानिसको उद्धारका लागि पर्याप्त उपकरण र दक्ष प्राविधिक नहुँदा समस्या देखिएको छ।
- प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बाहिरका प्रभावितको उद्धार सकिए पनि सुरुङभित्रको अवस्था बुझ्न तत्काल संघीय सरकारलाई उपकरणसहित प्राविधिक पठाउन आग्रह गरे।
- गोतामेले रसुवाका ६ वटा सुरुङमा फसेकाहरूको खोजी र उद्धारमा त्रिशूली ३ ‘ए’ र ३ ‘बी’ जस्तै पहल गर्नुपर्ने स्थानीय र आफन्तको माग रहेको बताए।
१६ भदौ, काठमाडौं । रसुवामा बाढीपछि बाहिर रहेका प्रभावितको उद्धार तथा राहतको काम भइरहे पनि सुरुङभित्र फसेका भनिएका मानिसको उद्धारमा समस्या देखिएको छ ।
सरकारसँग सुरुङभित्रको अवस्था बुझ्न आवश्यक उपकरण र दक्ष प्राविधिक जनशक्ति पर्याप्त नभएका कारण जनलविद्युत आयोजनाका सुरुङभित्र फसेका भनिएका मानिसको उद्धारमा समस्या देखिएको हो ।
बागमती प्रदेशसभाका सांसद इन्द्रप्रसाद गोतामेले रसुवाका विभिन्न सुरुङमा तीन सयभन्दा बढी मानिस फसेको हुन सक्ने आशंका गरिएको जानकारी दिएका छन् ।
‘यहाँको अवस्था गम्भीर खालकै छ । रसुवाका ६ वटा सुरूङभित्र तीन सय भन्दा बढी मान्छेहरू छन् भन्ने छ,’ धुन्चेमा रहेका सांसद गोतामेले भने, ‘सरकारसँग भित्र पस्ने प्राविधिक पनि रहेनछ, इक्युपमेन्टहरू पनि रहेनछ ।’
उनले रसुवाको अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै सुरुङभित्र फसेका मान्छेहरूको उद्धार भएको पनि बताए ।
‘बाढीबाट बाँचेर बाहिर रहेका मान्छेहरूको सेनाले उद्धार गरिसक्यो । यहाँ राहतको खासै समस्या छैन,’ गोतामेले भने, ‘यहाँ ठूलो समस्या भनेको सुरुङभित्र फसेका मान्छेहरूको उद्धार हो ।’

बाढीपछि सम्पर्कविहीन भएकाहरूका आफन्तले उनीहरू जीवित छन् कि छैनन् भन्ने यकिन गर्नका लागि तत्काल उद्धार सुरु गर्न सरकारलाई आग्रह गरिरहेका छन् ।
प्रदेशसभा सदस्य गोतामेले पनि सरकारलाई दक्ष प्राविधिक खटाएर सुरूङभित्रको अवस्था बुझिदिन आग्रह गरिएको जानकारी दिए ।
‘हिजो हामीहरुले केन्द्रीय (संघीय) सरकारलाई माग पनि गरेका छौं,’ उनले भने, ‘इक्युपमेन्टसहित दक्ष प्राविधिक मान्छेहरू लिएर आएर भित्रको अवस्था बुझिदिनुपर्यो भनेर भनेका छौं ।’
माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङमा उद्धारका लागि भइरहेको पहल जसरी रसुवाको भूगोलमा रहेका सुरुङहरूमा पनि पहल गरिनुपर्नेमा उनले जोड दिए ।
‘त्रिशूली ‘थ्री ए’ र ‘थ्री बि’मा जुन ढंगले पहल गरिराखेका छन्, रसुवामा रहेका अरू पाँच वटामा पनि त्यसैगरी पहल गर्दिन पर्यो भन्ने हो,’ सांसद गोतामेले भने ।
स्थानीय जनता र बाढीमा परेर सम्पर्कविहीन भएकाहरूका आफन्तहरूको पनि त्यही माग रहेको उनले बताए ।
‘सुरूङ भित्र रहेका मान्छेको अवस्था जिउँदो छ कि भनेर निकालिदिन पर्यो भन्ने माग छ स्थानीय मान्छे, आफन्तहरूको,’ सांसद गोतामेले भने, ‘जिउँदो छ कि भन्ने कल्पना भनौं न, मान्छेको आशा त हो नि ।
सांसद गोतामेसँग कुराकानीको अंश :
यहाँको अवस्था गम्भीर खालकै छ । उद्धारकार्यमा बाहिर बाँचेका मान्छेहरू ल्याउने काम सेनाले गरिसक्यो । यहाँ ठूलो समस्या भनेको सुरुङभित्र फसेका मान्छेहरूको उद्धार हो ।
छ वटा सुरुङ भित्र फसेका मान्छेहरूको जीवित छन् कि भनेर आफन्तहरूको तीव्र दबाब छ । सरकारसँग भित्र पस्ने प्राविधिक पनि छैन । इक्युपमेन्टहरू पनि छैन ।
हिजो हामीहरुले केन्द्रीय (संघीय) सरकारलाई माग पनि गरेका छौं । इक्युपमेन्टसहित दक्ष प्राविधिक मान्छेहरू लिएर आएर भित्रको अवस्था बुझिदिनुपर्यो भनेर भनेका छौं ।
सुरूङहरू भित्र तीन सयभन्दा बढी मान्छेहरू छन् भन्ने छ । अहिले जसरी त्रिशूली ‘थ्री ए’ र ‘थ्री बि’मा खनिराखिएको छ, उनीहरूले जुन ढंगले पहल गरिराखेका छन्, रसुवामा रहेका अरू पाँच वटामा पनि त्यसैगरी पहल गर्दिन पर्यो भन्ने हो ।
नुवाकोटतिरको भूगोलमा काम भइरहेको छ । रसुवातिरको भूगोलमा रहेका सुरुङमा उद्धारको पहल भइसकेको छैन ।
त्रिशूली ‘थ्री ए’ र ‘थ्री बि’ मा अपनाइएको तरिकाले रसुवामा पनि काम सुरु गर्दिनु पर्यो भन्ने यहाँको स्थानीय जनताहरूको माग छ । बाढीमा परेकाहरूका आफन्तहरूको पनि माग त्यही छ ।

यहाँ राहतको समस्या छैन । मान्छे बाहिर आइसकेका मान्छेहरूको त समस्या छैन । सुरुङभित्र रहेका मान्छेको अवस्था जिउँदो छ कि भनेर निकालिदिन पर्यो भन्ने दबाब छ स्थानीय मान्छे, आफन्तहरूको सरकारलाई । जिउँदो छ कि भन्ने कल्पना भनौं न, मान्छेको आशा त हो नि ।
यहाँ राहतको समस्या होइन । समस्या चाहिँ सरकारले इक्युपमेन्ट, दक्ष प्राविधिक ल्याएर बाँकी रहेका पाँचै वटा टनेलमा उद्धारको काम सुरु गरिदिए हुन्थ्यो भन्ने कुरा हो । बाढी आएको ५–६ दिन भइसक्यो । टनेलभित्र रहेको मान्छे पनि के छ कस्तो छ भन्ने कुरा हो ।
विपद्मा सरकारले समान व्यवहार गरेन भनेर आरोप लगाउने बेला होइन । सकेसम्म त सरकारले मान्छे मरोस्, सकियोस् भनेर त ढिला गर्दै गर्दैन । तर, अलिअलि ढंग नपुगेको भने हो । किन भने कार्यविभाजनको ढंग भने नपुगेकै हो ।
सरकारले सेनालाई मात्रै जिम्मेवारी दिए छ । जनपद प्रहरी पनि त्यतिकै छ । उता सशस्त्र प्रहरी पनि त्यतिकै छ । यो तीनवटा शक्तिलाई विभाजन गरेर, जस्तो रसुवाकै सवालमा भन्दा रेस्क्यू गर्ने जिम्मा सशस्त्रलाई दिएर टेनेल भित्रको काम सेनालाई दिएको भए अलि सजिलोसँग समस्या समाधान हुन्थ्यो । जनपदलाई चाहिँ राहतको सामग्री बाँड्न जिम्मा दिएको भए हुन्थ्यो ।
यसो गर्दा ठूलो समस्या समाधान हुन्थ्यो । कार्यविभाजन पनि एउटालाई दियो । एउटालाई दिएपछि त्यो एकल निर्देशन भयो । त्यसले गर्दा अलिअलि ढंग नपुगेको हो । यहाँ त्यस्तो खालको समस्या देखा परेको छ ।
संघीय सरकारले स्थानीय तह, प्रदेश सरकारसँग समन्वय नै त गरेको छैन । विपद्मा हामी सबैको कर्तव्य हो भनेर यो बेलामा यो उ भनेर बस्न हुँदैन भनेरै लागिराखेका छौं ।
खासै समन्वय भएको छैन । सेनालाई दिएको छ जिम्मेवारी ।
काम केन्द्रित गर्ने कुरो त ठीकै पनि होला । तर, कार्यविभाजनमा समस्या भएर अलि अन्धाधुन्ध भयो भन्ने कुरा हो । त्यति गर्दिन पाएको यो आवाज उठ्दैन थियो ।
पुरिएका घरहरूमा लास छन् भनेर मान्छेले आशंका भने गरेका छन् । घर पुरिएको छ, खोलिदिन पर्यो, त्यहाँ लास छ भनेर भनेका छन् ।

अब सरकारसँग त्यस्तो इक्युपमेन्ट पनि केही छैन । बाहिर देखिएका लासहरू टिपेर ल्याएर संकलन गरेको छ । लासको व्यवस्थापनमा पनि समस्या भइरहेको छ ।
बाहिर रहेका मान्छेका लागि सकेको गरेको छ । टनेलभित्रको उद्धार गर्ने काम प्राविधिक नभएपछि हुनसकेको छैैन । यो कुरो सरकारले बुझ्नपर्थ्यो । विदेशतिरबाट भएपनि बोलाउनु पर्थ्यो ।
त्यति काम गर्दिएको भए सरकारले प्रयास गरेको थियो, सकेन भन्ने पर्थ्यो । सरकारले प्रयासै नगरिदिएकाले हाम्रो मान्छे गुमायौं भन्ने खालको गुनासो आफन्तहरूमा देखिन्छ ।
ती कामदारहरू फेरि रसुवाका धेरै छैनन् । धेरै जसो पश्चिमतिरका मान्छेहरू छन् भित्र काम गर्नेहरू । त्यसले गर्दा त्यहाँ दबाब पनि राम्रो सँग पुगेको छैन ।
अब जसले कराउँछ, त्यसकै कुरो सुन्दिने त हुन्छ फेरि यस्तो बेलामा । त्यस्तो खालको पनि समस्या छ । आजदेखि टनेलको काम गर्ने भनेर गएका त छन् । तर, उनीहरूसँग इक्युपमेन्ट छैन, दक्ष प्राविधिक पनि छैन ।
(गोतामे रसुवा १ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद हुन्)
प्रतिक्रिया 4