+
+
Shares

इरानका सैन्य केन्द्रमा अमेरिकाको आक्रमण, जोर्डन र बहराइनमा इरानको जवाफी हमला

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १०:१८
फाइल तस्वीर

१७ भदौ, काठमाडौं । अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्डले इरानका विभिन्न सैन्य अखडाहरूमा शृंखलाबद्ध आक्रमण पूरा गरेको जनाएको छ।

सेन्ट्रल कमान्डले इरानका अखडाहरूमा मिसाइल प्रहार गरिएको भिडियोसमेत सार्वजनिक गरेको छ।

अमेरिकी सेनाले इरानका हवाई प्रतिरक्षा केन्द्र, राडार प्रणाली, नौसैनिक अखडा, समुद्री बारुदी सुरुङ ओछ्याउने क्षमता भएका संयन्त्र र सञ्चार केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ।

यसको जवाफमा इरानले जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी ड्रोन आक्रमणको खतरा बढेसँगै कुवेतमा पनि हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ भने जोर्डनले १३ वटा इरानी ब्यालेस्टिक मिसाइललाई आकाशमै रोकेको दाबी गरेको छ।

ट्रम्पको दाबी- इरानसँग सम्झौताको आवश्यकता छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अब कुनै सम्झौता गर्न आवश्यक नरहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै महत्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेटमा अमेरिकाको लगभग पूर्ण नियन्त्रण रहेको र इरानको अर्थतन्त्र धराशायी भइरहेको दाबी गरेका छन्।

विवाह समारोहमा आक्रमण भएको इरानको आरोप

अमेरिकी मिसाइल आक्रमणबाट खुजेस्तान प्रान्तमा ७ जनाको मृत्यु भएको र ८ जना घाइते भएको इरानले दाबी गरेको छ। इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार उक्त प्रान्तका ३ वटा स्थानलाई अमेरिकाले निशाना बनाएको थियो।

यसैगरी, इरानको सिरिकस्थित कुहस्तक क्षेत्रमा एउटा विवाह समारोहमा अमेरिकाले आक्रमण गरेको इरानको आरोप छ। इरानी सरकारी टिभी च्यानल आईआरआईबीले उक्त आक्रमणमा ४ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले एक आवासीय घरमा विवाहको खुसीयाली मनाइरहेका ५० भन्दा बढी निर्दोष पुरुष, महिला र बालबालिका मारिएको वा घाइते भएको दाबी गरेका छन्।

उनले अमेरिकी आक्रमणलाई बर्बर अपराधको संज्ञा दिँदै यसको कडा जवाफ दिने चेतावनी दिएका छन्।

जोर्डनमा अमेरिकी सैनिक मारिएको इरानको दाबी, अमेरिकाद्वारा खण्डन

इरानको रिभोलुसनरी गार्ड्सले जोर्डनस्थित अमेरिकी अखडाहरूमा गरिएको आक्रमणमा ठूलो सङ्ख्यामा अमेरिकी सैनिक मारिएको दाबी गरेको छ। तर, अमेरिकी अधिकारीहरूले भने उक्त दाबीलाई खारेज गरेका छन्।

दुई अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार, प्रारम्भिक जानकारीमा जोर्डनस्थित अमेरिकी अखडामा भएको इरानी आक्रमणमा कोही पनि हताहत भएका छैनन्। यद्यपि, इरानी आक्रमण जारी रहेकाले स्थिति बदलिन सक्ने उनीहरूले बताएका छन्।

रुसले इरानलाई सुपरसोनिक मिसाइल प्रविधि दिने ?

रुसले इरानलाई सुपरसोनिक क्रुज मिसाइल बनाउने प्रविधि गोप्य रूपमा उपलब्ध गराइरहेको खुलासा भएको छ।

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, यी दुई देशबीच सन् २०२३ देखि यो गोप्य कार्यक्रम चलिरहेको छ। यसको उद्देश्य इरानलाई ध्वनिको गतिभन्दा कयौँ गुणा छिटो उड्न सक्ने मिसाइल विकास गर्न मद्दत गर्नु हो।

‘सी-४३०एल’ कोडनेम दिइएको यस कार्यक्रममा रुसका अनुभवी मिसाइल विशेषज्ञहरू संलग्न छन्। रुसले इरानलाई ‘र्‍यामजेट प्रोपल्सन सिस्टम’ विकास गर्न सघाइरहेको छ।

रिपोर्टका अनुसार इरानले यो सिस्टम निर्माण गरी यसको उडान परीक्षणसमेत गरिसकेको छ। यद्यपि, इरानले उक्त मिसाइल सैन्य रूपमा तैनाथ गरिसकेको कुनै प्रमाण भने फेला परेको छैन।

तीव्र गति र कम उचाइमा उड्न सक्ने क्षमताका कारण यस्ता मिसाइललाई हवाई प्रतिरक्षा प्रणालीले रोक्न निकै कठिन हुन्छ।

किन बढ्यो तनाव ?

पछिल्लो समय अमेरिका र इरानबीच ‘होर्मुज स्ट्रेट’लाई लिएर तनाव चुलिएको हो। इरानले यस महत्वपूर्ण समुद्री मार्गमा बारुदी सुरुङ ओछ्याउने प्रयास गरेको अमेरिकाको आरोप छ।

यस्ता माइनहरूले पानीजहाजहरूलाई ठूलो खतरा निम्त्याउनुका साथै समुद्री यातायात नै रोक्न सक्छन्।

यही आरोपपछि राष्ट्रपति ट्रम्पले होर्मुज स्ट्रेट वरपरका इरानी अखडाहरूमा आक्रमणको आदेश दिएका थिए। ट्रम्पले इरानले जवाफी हमला गरे अमेरिकाले अझै कडा प्रहार गर्ने चेतावनी दिएका छन्।

यसअघि आइतबार पनि अमेरिकी सेनाले इरानको लारक टापुमा रहेका दुईवटा रकेट लन्चरलाई निशाना बनाएको थियो, जसको जवाफस्वरूप इरानले पनि जोर्डनका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो।

होर्मुज स्ट्रेटबाट खाडी देशहरूको तेल र ग्यास विश्वभर आपूर्ति हुने गर्छ। यहाँ द्वन्द्व बढ्दा विश्वभरको ऊर्जा आपूर्ति प्रभावित हुने र कच्चा तेलको मूल्य अकासिने जोखिम बढेको छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?