+
+
Shares

भोटेकोशी बाढीपछि दुःखी सुनिता : राहत सिधै पीडितसँग पुग्ने माध्यम खोजेकी छु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा आएको विनाशकारी बाढीबाट दुःख लागेको भन्दै गोविन्दाकी पत्नी सुनिता आहुजाले बाढीपीडितका लागि सहयोग गर्न बलिउडलाई आग्रह गरिन् ।
  • काठमाडौंसँग पारिवारिक सम्बन्ध रहेको बताउँदै सुनिताले आफ्नी आमा र हजुरआमा काठमाडौंका भएको र हरेक वर्ष छोरीसँग नेपाल जाने गरेको भनिन् ।
  • सहयोग वास्तविक पीडितसम्म पुग्ने भरपर्दो माध्यम खोजिरहेको बताउँदै उनले मनिषा कोइरालालाई बहिनीजस्तै ठान्ने उल्लेख गरिन् ।

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले दुःख व्यक्त गरेकी छन् । काठमाडौंसँग पारिवारिक सम्बन्ध रहेकी उनले बाढीपीडितका लागि सकेसम्म धेरै सहयोग गर्ने इच्छा व्यक्त गर्दै बलिउड फिल्म उद्योगलाई पनि सहयोगका लागि अगाडि आउन आग्रह गरेकी छन् ।

सुनिताकी आमा र हजुरआमा काठमाडौंका हुन् । भारतमा जन्मिएकी भए पनि नेपालसँग आफ्नो निकट सम्बन्ध रहेको बताउँदै उनले छोरीसँग हरेक वर्ष नयाँ वर्षका अवसरमा नेपाल आउने गरेको उल्लेख गरेकी छन् ।

उनले भनिन्, ‘नेपालमा यस्तो विनाशकारी बाढी आएको देख्दा मन निकै दुखेको छ । म त्यहाँ जन्मिएकी होइन, तर मेरी आमा र हजुरआमा काठमाडौंका हुनुहुन्छ । म हरेक वर्ष छोरीसँग नयाँ वर्ष मनाउन नेपाल जान्छु । जनवरी १ मा पशुपतिनाथ मन्दिर पुगेर उहाँको आशीर्वादसहित नयाँ वर्ष सुरु गर्ने प्रयास गर्छु ।’

बाढीको विपत्तिपछि राहतका लागि सहयोग गर्न भरपर्दो माध्यम खोजिरहेको पनि उनले बताएकी छन् । सहयोग वास्तविक पीडितसम्म पुग्ने सुनिश्चितता गर्न सक्ने व्यक्तिसँग सम्पर्क गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

‘म सकेसम्म धेरै सहयोग गर्न चाहन्छु, किनकि उहाँहरू मेरो निकै नजिक हुनुहुन्छ र नेपाल मेरो मातृभूमि हो,’ उनले भनिन्, ‘म फिल्म उद्योगका सबैलाई अगाडि आएर नेपालका जनतालाई सहयोग गर्न अनुरोध गर्छु ।’

नेपालसँग व्यक्तिगत सम्बन्धबारे चर्चा गर्दै सुनिताले अभिनेत्री मनिषा कोइरालालाई बहिनीजस्तै ठान्ने बताएकी छन् । ‘मनिषा कोइराला मेरी बहिनीजस्तै हुन् । उहाँले नेपालका जनताका लागि सक्दो प्रयास गरिरहनुभएको होला भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।

सुनिता पछिल्लो पटक रियालिटी शो ‘लक अप : सच या सजा’ मा देखिएकी थिइन् । उनी ‘लाफ्टर सेफ्स’ र ‘मा है ना’मा समेत सहभागी भइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?