+
+
Shares

गोरखामा ग्यासको कालोबजारी गर्ने व्यापारीलाई तीन लाख जरिवाना

अनुचित व्यवसायिक क्रियाकलाप गरेको भन्दै प्रशासनले कारबाही स्वरूप जरिवाना तोकेको हो । उक्त रकम तिर्न सात दिनको अल्टिमेटम दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २१:१८

१८ भदौ, गोरखा । खाना पकाउने ग्यासमा कालोबजारी गर्ने बसपार्कस्थित गणेश भाँडा पसललाई तीन लाख जरिवाना तोकिएको छ ।

अनुचित व्यवसायिक क्रियाकलाप गरेको भन्दै प्रशासनले कारबाही स्वरूप जरिवाना तोकेको हो । उक्त रकम तिर्न सात दिनको अल्टिमेटम दिइएको छ ।

अनुगमन समितिको प्रतिवेदन, स्थलगत मुचुल्का र सम्बद्ध कानूनको आधारमा कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षण अधिकृत नेत्रप्रसाद शर्माले बताए ।

‘उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्ने निर्णय भयो,’ उनले भने, ‘उक्त ऐनमा बढीमा तीन लाखसम्म जरिवाना गर्न पाउने व्यवस्था छ ।’ ठगिएका उपभोक्तालाई पूरा तौल भएको ग्यास उपलब्ध गराउन पनि भनिएका उनले जानकारी दिए ।

उनका अनुसार व्यवसाय स्थलमा आवश्यक सुरक्षा मापदण्डसहित सीसीटीभी जडान गर्न निर्देश गरिएको छ । कारबाही चित्त नबुझे पुनरावेदन गर्न पाउने उनले बताए ।

‘हामीले गरेको कारबाही चित्त नबुझे उहाँले पुनरावेदन गर्न पाउनुहुन्छ, त्यसका लागि हामीले तोकेको जरिवाना रकमको ५० प्रतिशत अर्थात् डेढ लाख रकम धरौटी राख्नुपर्छ,’ उनले  भने ।

सिल गरिएको सिलिन्डरबाट ग्यास चोरेर बिक्री वितरण गरेको भन्ने उपभोक्ताको गुनासो पश्चात उक्त सप्लायर्सको बाह्रकिलोस्थित गोदाम अनुगमन भएको थियो ।

अनुगमनको क्रममा ग्यास चोरेर बिक्री गर्ने गरेको खुलेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

‘एउटा सिलिन्डरबाट कम्तीमा चार केजी ग्यास चोर्ने गरेको पाइयो, ग्यास चोर्न प्रयोग हुने धातुको सुइरो समेत हामीले त्यहाँबाट बरामद गरेका थियौं,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?