१८ भदौं, काठमाडौं । चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
‘जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई संयुक्त रूपमा रोकथाम तथा न्यूनीकरण गर्न नेपाल र अन्तर्राष्ट्रिय समुदायका अन्य पक्षसँग सहकार्य अझ सुदृढ गर्न चीन तयार छ,’ गुओले भने।
नेपालमा हालै आएको विनाशकारी बाढीपछि हरितगृह ग्यास उत्सर्जन गर्ने ठूला मुलुकहरूबाट जलवायु क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेका बेला गुओको यस्तो भनाइ आएको हो।
अमेरिकी सञ्चारमाध्यम ब्लूमबर्गले चीन, भारत र अमेरिकाबाट जलवायु क्षतिपूर्ति माग भइरहेको विषयमा चिनियाँ विदेश मन्त्रालयको धारणा सोधेको थियो।
जवाफमा गुओले चीन विश्वव्यापी हरित विकास प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए। उनका अनुसार चीनले कार्बन उत्सर्जनको उच्चतम स्तरमा पुर्याउने र कार्बन तटस्थता हासिल गर्ने लक्ष्यतर्फ सक्रिय तथा ठोस प्रयास गरिरहेको छ।
गुओले विकासशील देशहरूको वैध अधिकार र हितको संरक्षण गर्दै निष्पक्ष तथा समतामूलक विश्वव्यापी जलवायु शासन प्रणाली निर्माणका लागि चीनले काम गरिरहेको दाबी गरे ।
उनले दक्षिण–दक्षिण सहकार्यअन्तर्गत आफ्नो क्षमताले भ्याएसम्म अन्य विकासशील मुलुकलाई सहयोग गर्दै आएको पनि बताए।
नेपाल र चीनबीचको सम्बन्धलाई उल्लेख गर्दै गुओले दुवै देश ‘हिमाल र नदीले जोडिएको साझा भविष्य भएको समुदाय’ रहेको बताए। उनले हालैको सीमापार विपद्बाट चीन पनि गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरे।
प्रतिक्रिया 4