२० भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्क सहरका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न अस्थायी रोक लगाइएको छ ।
न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी शैक्षिक सत्रदेखि प्राथमिक र मिडिल स्कुलका विद्यार्थीलाई एआई प्रयोग गर्न नदिइने घोषणा गरेका छन् । यो निर्णयबाट झण्डै ६ लाख विद्यार्थी प्रभावित हुने बीबीसीले जनाएको छ ।
मेयर ममदानीले बालबालिकाको सिकाइ र विकासका लागि शिक्षक तथा मानवीय सम्बन्ध महत्वपूर्ण रहेको भन्दै उक्त घोषणा गरेका हुन् । विद्यार्थीले साथीहरूसँग सहकार्य गर्दै सीप विकास गर्ने, शिक्षकसँग सम्बन्ध स्थापित गर्ने र जटिल समस्याको समाधान आफैं गर्ने अवसर पाउनुपर्ने उनको भनाइ छ ।
जनरेटिभ एआई भनेको च्याटजीपीटीजस्तै प्रयोगकर्ताले दिएको निर्देशन वा ‘प्रम्प्ट’का आधारमा विभिन्न सामग्री तयार गर्न सक्ने प्रविधि हो ।
ममदानीले विद्यालयमा विद्यार्थीको स्क्रिन टाइमसम्बन्धी नयाँ मापदण्ड लागू गरिने पनि बताएका छन् । तीनदेखि पाँच कक्षासम्मका विद्यार्थीको विद्यालयमा स्क्रिन टाइम दैनिक ३० मिनेट र ६ देखि ८ कक्षासम्मका लागि ४५ मिनेटमा सीमित गर्न सिफारिस गरिएको छ ।
विद्यार्थीहरूलाई ‘कम्पेनियन च्याटबट’ प्रयोग गर्नसमेत रोक लगाइएको छ । माध्यामिक तहका विद्यार्थीलाई वर्षमा दुईपटक एआईसम्बन्धी शिक्षा दिइने र वर्षभरि एआई शिक्षासम्बन्धी कार्यक्रमको समीक्षा गरिने बताइएको छ ।
मेयर ममदानीले यो नीति स्थायी नभएको बताएका छन् । नीति कार्यान्वयनको प्रभावकारिताबारे एक वर्षसम्म निगरानी गरिने र आवश्यकताअनुसार परिवर्तन गर्न सकिने उनको भनाइ छ।
प्रतिक्रिया 4