२० भदौ, बाजुरा । बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएको थियो ।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोला झरनामाथि पहिरोले खोला थुनिएर बनेको ताल फुटेपछि बाढी आएको स्थानीय लालसिंह साउँदले बताए ।
‘एक्कासी बाढी आउँदा घरबाहिर निस्केर हिँडेका छौं,’ उनले भने, ‘अहिलेसम्म न खाना छ, न त बास छ ।’
बाढीले मानवीय क्षति तथा घरमा प्रत्यक्ष क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका छन् । थप १८ परिवारसमेत जोखिममा रहेको स्थानियले बताए ।
बाढीले ४१ परिवार प्रभावित रहेको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्षपरे बडुवालले जानकारी दिए ।
उनका अनुसार बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्याएको छ । यस्तै, किसानको धानबालीसमेत बगाएर खेतलाई बगरमा परिणत गरेको उनले बताए ।
बाढीपछि बिस्थापित २३ परिवारलाई सुरक्षित स्थानका सारिएको कार्यवाहक वडाध्यक्ष बडुवालले जानकारी दिए ।
प्रतिक्रिया 4