+
+
Shares

भुटानी प्रधानमन्त्रीसँग नेपाली सांसदको आग्रह- जलवायु क्षतिपूर्तिको पहलमा सहयोग होस्

सांसद गजुरेलले जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा नेपालको पहलमा सहयोग गर्न भुटानको समर्थन मागेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १६:१४

२१ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने नेपालको पहलमा सहयोग गर्न नेपाली प्रतिनिधिले भुटानका प्रधानमन्त्री ल्योन्चेन दासो छेरिङ तोब्गेसँग आग्रह गरेका छन् ।

भुटानमा जारी साउथ एसियन रिजनल पार्लियामेन्टरी फोरमका क्रममा भुटानका प्रधानमन्त्रीसँग नेपाली प्रतिनिधिको भेट भएको थियो ।

उक्त भेटमा रास्वपा सांसदहरू आशिष गजुरेल र अशोक चौधरीले रसुवा बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षतिबारे प्रधानमन्त्री तोब्गेलाई जानकारी गराए ।

भेटका अवसरमा सांसद गजुरेलले जलवायु परिवर्तनमा नेपालको योगदान अत्यन्त न्यून भएपनि जलवायुजन्य विपद्को गम्भीर असर नेपालले बेहोर्नुपरेको भन्दै सहानुभूतिभन्दा क्षतिपूर्ति र न्यायोचित सहयोग आवश्यक रहेको बताए ।

नेपाल सरकारले रसुवा बाढीबाट भएको क्षति तथा नोक्सानीको क्षतिपूर्ति माग गर्दै ३१ अगस्टमा लस एन्ड ड्यामेज फन्डको बोर्डसमक्ष औपचारिक पत्र पठाइसकेको छ ।

यसबारे जानकारी गराउँदै जलवायु न्याय र क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा नेपालको पहलमा सहयोग गर्न भुटानको समर्थन मागेका हुन् ।

प्रधानमन्त्री तोब्गेले नेपालमा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए । जलवायु परिवर्तनमा कम योगदान गर्ने मुलुकहरूले बढी क्षति बेहोर्नुपरेको भन्दै प्रभावित मुलुकलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?