News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको सोलेबजार र रसुवाको कैदलेटारमा १० गते आएको त्रिशूली बाढीले करिब ६० देखि १०० घर भएको बस्ती बगाएको छ।
- सोलेबजारमा ६८ जनालाई बगाएको र एक जनाको मात्र शव भेटिएको स्थानीयले बताएका छन्।
- नजिकैको कर्मेटारमा ६२ घर जोगिएका छन् र मानवीय क्षति नभएको स्थानीयले बताएका छन्।
२१ भदौ, सोलेबजार (नुवाकोट) । वारि नुवाकोटको सोलेबजार पारि रसुवाको कैदलेटार । त्रिशूली नदी किनाराका बस्ती हुन् यी ।
दुवै बजारमा दोहोरो बस्ती थियो । तर अहिले दुवैतिर त्रिशूली बगिरहेको छ । स्थानीयका अनुसार सोलेबजारमा करिब ६० देखि १०० को हाराहारीमा घर थिए । यसको यकिन विवरण आउन बाँकी छ ।
उता, कैदलिटारमा पनि त्यत्तिकै बराबर घरहरू थिए । सोलेबजार नुवाकोटको नगरपालिका र कैदलेटार रसुवाको उत्तरगयाँ गाउँपालिकामा पर्छ ।
सोलेबजारको सुरुमै थियो स्थानीय लक्ष्मण अधिकारीको घर । ‘बाढीले घरै बगाएर पाखामा पुर्याएको छ । घर भएको ठाउँमा खोला बगेको छ,’ उनले भने, ‘सोलेबजार अहिले शून्य भएको छ । १० गतेको बाढीले सोलेबजार बस्तीविहीन छ ।’
बाढीबाट विस्थापित भएकाहरू होल्डिङ सेन्टरमा बसिरहेका छन् । ‘कोही आफन्तकहाँ बस्नुभएको छ । आफन्त नहुनेहरूको बास विद्यालयको कक्षा कोठामा छ,’ उनले भने ।

रेडक्रसको तुम्चे उपशाखाका सभापति कृष्णप्रसाद रिजाल अहिले बस्तीको नामोनिसान नभएको बताउँछन् । बस्तीमा ठूलो मानवीय क्षति भएको छ ।
‘सोलेबजारमा एकै ठाउँबाट ६८ जनालाई बगायो । एक जनाको मात्र शव भेटिएको छ,’ रिजालले भने, ‘तत्कालीन समयमा ८० जना रहेछन् । बजारमा १२ जना मात्र जीवित रहे ।’
बाढीले बगाएकाहरू अहिलेसम्म सम्पर्कमा छैनन् । स्थानीयका अनुसार कैदलेटारतर्फ ३९ जनाको हाराहारीमा बेपत्ता छन् ।
‘बाढी आउनु केहीबेरअघि खबर आएको थियो । सधैंझै आउने होला भन्ने सोचेको तर खोलाले डाँडै काटेर ल्यायो,’ अधिकारीले भने, ‘कोही खाना खाँदै थिए । कोही पकाउँदै थिए । भाग्ने समयसमेत भएन ।’
गाडी भएकाले उनी सोलेबजारबाट माथि जान सफल भए । ‘गाडीलाई समेत बाढीले भेटेको थियो । धन्न ज्यान जोगियो । जायजेथा सबै बगायो,’ उनले भने ।

भाग्यबस जोगिएको कर्मेटार
बेत्रावती, सोलेबजार र कैदलेटारसँगै नजिकै पर्छ कर्मेटार । यी बस्तीहरू खण्डहर बनेका छन् । घरसहित मान्छे बगेर टाढाटाढा पुगे । बेपत्ताहरूको अहिलेसम्म पहिचान हुन सकेको छैन । तर कर्मेटार भने जोगिएको छ ।
बाढी आउनुअघि कर्मेटारका स्थानीय कृष्णप्रसाद रिजाल सोलेबजारमै चिया पिँउदै थिए । माथि त्रिशूली–३ बीको इन्टेकबाट ठूलो आवाज आएको उनले सुने ।
‘सधैं चिया पिउने गरेको सोलेबजारमा थिएँ । त्रिशूली- ३ बीको इन्टेकबाट चट्याङ्को आवाज आयो । हारगुहार गर्दै घर भएको ठाउँ कर्मेटारतर्फ गएँ,’ उनले भने ।

उनी घर पुग्दा सोलेबजारदेखि बेत्रावतीबजार लगिसकेको थियो । तर कर्मेटारतर्फ भने बाढी आइपुगेन । त्रिशूलीको किनारमै पर्छ यो बस्ती पनि । छेउछाउको खेत लग्यो तर बस्तीमा बाढी आइपुगेन । बेत्रावतीतर्फ हानेर बाढी तलतिर लाग्यो । ‘भाग्यबस कर्मेटारको ६२ घर जोगिएका छन् ।
मानवीय क्षति पनि भएन,’ उनले भने, ‘बीचमा ढुंगा र पहाड रहेछ । त्यसले बाढी हाम्रो बस्तीमा आउन नपाएको हुनसक्छ ।’
दायाँबायाँ र पारिका बस्ती खण्डहर बनिरहँदा कर्मेटार भने जोगिन पुग्यो । तर बाढीको जोखिम भने यो बस्तीमा पनि छ । त्रिशूलीमा पानीको सहत बढे लगत्तै कर्मेटारका स्थानीय त्रासमा हुन्छन् ।
‘बाढी आएपछि बस्तीमा बस्ने अवस्था भएन । १० गते पनि हामी माथितिर गएर बस्नु पर्यो,’ स्थानीय सुदर्शन खतिवडाले भने, ‘कहिल्यै नभोगेको, नदेखेको बाढी यस पटक आयो ।’
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4