+
+
Shares

मनमोहक केन्जो (तस्वीरहरू)

कवि चन्द्र गुरुङले ठट्टा गरे, ‘केन्जो त म जत्रै रहेछ !’

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ असोज ४ गते ७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङको तिम्बुङ पोखरी क्षेत्रमा साउनदेखि असोजको दोस्रो सातासम्म फुल्ने केन्जो पर्यटकको नयाँ आकर्षण बनेको छ।
  • सिदिङ्बा गाउँपालिकाले तिम्बुङ पोखरी क्षेत्रलाई ‘केन्जोको राजधानी’ घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ र यसको संरक्षणमा काम भइरहेको छ।
  • ब्रिटिस वनस्पतिशास्त्री जोसेफ डाल्टन हुकरले सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा करिब १४ हजार फिट उचाइमा केन्जो देखेको उल्लेख गरेका छन्।

४ असोज, पाँचथर । तिम्बुङ पोखरीबाट उकालो लाग्दै गर्दा पर्यटन व्यवसायी मनोज बस्नेतका आँखाले एउटा खास फूल खोजिरहेका थिए– केन्जो ।

समुद्र सतहबाट ४ हजार ३ सय ५० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरीको पृष्ठभूमिमा केन्जोको तस्वीर खिच्ने उनको रहर थियो । केही उकालो हिँडेपछि उनको त्यो रहर पनि पूरा भयो ।

पोखरी, वरिपरिका अग्ला डाँडा र बीचमा पिरामिड आकारमा ठिंग उभिएको केन्जो । मोबाइलको क्यामेरामा त्यो दृश्य कैद गरेपछि बस्नेत दंग परे ।

केन्जोसँग उनको यो पहिलो भेट भने होइन । ‘हरेक पटक आउँदा केन्जोले मोहित बनाउँछ,’ उनी भन्छन् ।

तिम्बुङ पहिलोपटक पुगेका कवि चन्द्र गुरुङको अनुभव पनि उस्तै छ । तस्वीरमा देख्दै आएको केन्जो आफ्नै मोबाइलमा कैद गर्न उनी उकालो लागेका थिए ।

केन्जो नजिक पुगेपछि उनले ठट्टा गरे, ‘केन्जो त म जत्रै रहेछ !’

फोटो खिच्ने बहाना, केन्जो हेर्ने मोह

तिम्बुङ पोखरी पुग्ने पर्यटकका लागि पोखरी मुख्य आकर्षण हो । तर पोखरीसम्म पुगिसकेपछि उनीहरूको ध्यान केन्जोतिर पनि तानिन्छ । केन्जोलाई हिमाली वनस्पति ‘पदमचाल’ पनि भनिन्छ ।

‘हिमाली क्षेत्रमा पाइने केन्जो हेर्दै सुन्दर छ । धेरै ठाउँमा यो फूल नपाइने भएकाले पनि महत्वपूर्ण छ,’ बस्नेत भन्छन्, ‘पूर्वका ताप्लेजुङ, पाँचथर र संखुवासभामा यो भेटिएको छ । तिम्बुङ दर्शनपछि यहाँ आउनेहरूको अर्को लक्ष्य केन्जोसँग फोटो खिच्नु पनि हो ।’

तर केन्जोसधैं हेर्न पाइँदैन । साउनदेखि असोजको दोस्रो सातासम्म यसको फूल देख्न सकिन्छ । फूल फुलेको मौसममा भने लेकाली चौर र अग्ला डाँडाहरूको दृश्य नै फेरिन्छ ।

पत्रैपत्र मिलेर पिरामिडजस्तो बनेको फूल टाढैबाट पनि छुट्टिन्छ । कतै टावरजस्तो देखिन्छ, कतै डाँडामाथि साना–साना संरचना उभिएजस्तो ।

त्यसैले केन्जोलाई कतिपयले ‘डाँडैभरी टावर’ पनि भन्ने गरेका छन् ।

फूल प्रत्यक्ष देख्नेहरू त मोहित हुन्छन् नै, तस्वीर र भिडियो हेर्नेहरू पनि तिम्बुङ पुगेर यसलाई आफ्नै आँखाले हेर्न लालायित हुन्छन् ।

‘केन्जोको राजधानी’ बनाउने तयारी

केन्जोको आकर्षण पर्यटनसँग मात्र जोडिएको छैन । स्थानीयका लागि यो औषधीय गुण भएको वनस्पति पनि हो ।

ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई केन्जोको संरक्षण आवश्यक रहेको बताउँछन् ।

‘केन्जो फूलप्रति निकै आकर्षण छ । यो औषधीय गुण भएको वनस्पति हो,’ उनी भन्छन्, ‘यसको संरक्षण आवश्यक भएको छ । त्यही भएर काम गर्दै छौँ ।’

उनका अनुसार तिम्बुङ पोखरी क्षेत्रलाई ‘केन्जोको राजधानी’ घोषणा गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

ठूला पातमाथि बिस्तारै पत्रैपत्र भएर माथितिर सानो हुँदै जाने केन्जो फुल्दा पिरामिडजस्तो देखिन्छ । तल बाक्लो र माथितिर साँघुरिँदै जाने भएकाले यसको आकृति टावरसँग मिल्दोजुल्दो देखिन्छ ।

केन्जोको यही असाधारण आकृतिले यसलाई तस्वीरका लागि आकर्षक बनाएको छ । धेरैले यसको तस्वीर घरमा र क्यालेन्डरमा समेत सजाएका छन् ।

हुकरले देखेको केन्जो

केन्जोप्रतिको आकर्षण आजको मात्र होइन । ब्रिटिस वनस्पतिशास्त्री सर जोसेफ डाल्टन हुकरले पनि हिमाली क्षेत्रमा यात्रा गर्दा यो वनस्पतिलाई देखेर त्यसको वर्णन गरेका थिए ।

हुकरले आफ्नो चर्चित पुस्तक ज्ष्mबबिथबल व्यगचलबकि स् ल्यतभक या ब ल्बतगचबष्कित मा यसको उल्लेख गरेका छन् । उक्त पुस्तक नेपालीमा ‘कञ्चनजङ्घा जुहार’ नामबाट समेत अनुवाद भएको छ ।

सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा पुगेका हुकरले करिब १४ हजार फिटको उचाइमा केन्जो देखेको उल्लेख गरेका छन् ।

उनले टाढैबाट देखिएको केन्जोको दृश्यलाई विशेष रूपमा वर्णन गरेका छन् ।

लाछेन उपत्यकाको कालो पहाडमा फुलेको केन्जोले पहाडलाई असाध्यै सुन्दर बनाएको उनको वर्णन छ । अप्ठ्यारा ठाउँमा उम्रिएको करिब तीन फिट अग्लो वनस्पति पिरामिड आकारको टावरझैं ठिंग उभिएको उनले लेखेका छन् ।

सयौँ वर्षअघि हुकरलाई आकर्षित गरेको त्यही हिमाली वनस्पति अहिले पूर्वी नेपाल पुग्ने पर्यटकको क्यामेरामा कैद हुन थालेको छ ।

तीन हजार दुई सय मिटरमाथिको फूल

केन्जो सामान्य भूभागमा भेटिने फूल होइन । करिब ३ हजार २ सयदेखि ४ हजार ५ सय मिटरको उचाइमा पाइने यो वनस्पति नेपालसँगै भारत र भुटानका हिमाली क्षेत्रमा भेटिन्छ ।

कृत्रिम रूपमा युरोपमा समेत यसको खेती गरिएको तथ्य पाइन्छ ।

नेपालमा भने ताप्लेजुङ, पाँचथर र संखुवासभाका उच्च हिमाली क्षेत्रमा यसको उपस्थिति रहेको बताइन्छ ।

तिम्बुङ पोखरी क्षेत्रको पर्यटनसँग केन्जोको सम्बन्ध भने पछिल्ला वर्षमा अझ बलियो हुँदै गएको छ । पोखरी हेर्न आउनेहरूका लागि फूल फुलेको मौसम अर्को आकर्षण बनेको छ ।

साउनमा फूल्न सुरु गरेपछि असोजको दोस्रो सातासम्म लेकाली चौरहरूमा केन्जो देखिन्छ । त्यसपछि भने यसको फूल हराउँछ । अर्को वर्ष फेरि उही मौसम पर्खिनुपर्छ ।

त्यसैले तिम्बुङ पुगेका पर्यटकका लागि केन्जोसँगको भेट केवल एउटा तस्वीर खिच्ने अवसर मात्र होइन, उचाइमा पुगेर केही समयका लागि प्रकृतिले देखाएको दुर्लभ सौन्दर्यसँग मोहित हुने क्षण पनि हो ।

 

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?