News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
- भाटभटेनीले आगजनीले ध्वस्त भएका १२ मध्ये १० वटा स्टोर पुनः सञ्चालनमा ल्याएको र बाँकी २ वटा छिट्टै खुल्ने जनाएको छ ।
- कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारी नकटौती गरी पुनः सञ्चालनमा आएका स्टोरमा उनीहरूको भूमिका निरन्तरता दिएको छ ।
४ असोज, काठमाडौं । काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलि सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
उक्त स्टोरबाट ग्राहकलाई भोलि सोमबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता नगरेको भाट–भटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए ।
उनका अनुसार भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग नगरी पुनः सञ्चालनमा आएका स्टोरहरूमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको छ ।

‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ,’ गुरुङले विज्ञप्तिमार्फत भनेका छन् ।
अध्यक्ष गुरुङले अगाडि भनेका छन्, ‘तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थाल्यौँ । आगजनीको पाँच महिनामा पूर्णरूपमा जलेको कोटेश्वरस्थित स्टोर सञ्चालनमा ल्यायौँ । क्रमिक रूपमा विस्तारै जलेका भवन ठड्याउँदै एकपछि अर्को गरी अहिलेसम्म हामीले आगजनीले ध्वस्त भएका १२ मध्ये १० वटा स्टोर पुनः सञ्चालनमा ल्याउन सफल भएका छौँ । बाँकी रहेका दुई वटा स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै सञ्चालनमा आउनेछन् भन्ने विश्वास लिएका छौँ ।’
दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी रहेको उनले बताए । यी स्टोरबाट पनि ग्राहकले पुनः छिट्टै सेवा पाउने लक्ष्य कम्पनीको रहेको उनले बताए । पुनर्निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको कम्पनीको भनाइ छ ।

पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनःनिर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबीसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भएको उनले बताए ।

प्रतिक्रिया 4