+
+
Shares

काजीको बिहे होला त ? ‘कबड्डी ५’ को टिजरमा यस्तो छनक

तीन मिनेट लामो टिजर निकै रमाइलो र रहस्यमय छ । रहस्य चाहिँ, विपिन कार्कीको प्रवेशसँगै हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कबड्डी–५’ को टिजर सार्वजनिक भएको छ, जसको सुरुवात सुहागरात प्रसंगबाट हुन्छ।

काठमाडौं । ‘कटप्पा ने बाहुबलीको क्यों मारा ?’ फिल्म ‘बाहुबली’ को पहिलो भागले यही प्रश्न छाडेको थियो । ठीक यसैगरी ‘कबड्डी’ ले ४ भागसम्म आइपुग्दा एउटा प्रश्न छाडिरह्यो । प्रश्न थियो, ‘काजीको बिहे होला ?’

काजीको बिहे त पहिलो भागमै हुने जोरजाम भइसकेको थियो । बिहे हुनै लागेको थियो, कतैबाट तगारो आइदियो । उनको सपना थाती रह्यो, मैयालाई आफ्नी बनाउने ।

त्यसपछि दोस्रो भाग आयो जसमा काजीको प्रेमले नै कथाको आयतन बढाएको थियो । त्यसपाली पनि काजीको बिहे भएन । तेस्रो र चौथो भागमा आइपुग्दा काजी ‘बूढोकन्य’ मात्र भएनन्, कसो घर गृहस्थीबाट सन्यास नै लिएनन् ।

‘कबड्डी ४’ लाई निर्माण पक्षले सानो अक्षरमा ‘फाइनल म्याच’ भनी काजीको बिहेको अन्तिम छिनोफानो गर्ने संकेत दियो । तर, काजीका लागि यस्तो साइत जुर्दै जुरेन । फिल्म सकिँदासम्म काजी अविवाहित रहे।

अन्ततः अहिले ‘कबड्डी ५’ आउने सुरसार चल्दैछ । र, यतिबेला टिजर सार्वजनिक भएको छ । टिजरको सुरु नै ‘सुहागरात’ को प्रसंगबाट हुन्छ । तर, यो सुहागरात कसको ? काजी र उनकी प्रियतमको ? वा अरू कसैको ? किनभने दृश्यमा काजी होइन, छन्त्याल र बिके पो देखिन्छन् ।

के छन्त्यालले दोस्रो बिहे गरे ? बिकेले नयाँ केटी पायो ? वा काजीले घरजाम गरे ?

टिजरमा यसको केही संकेत छ ।

खासमा बिके र छन्त्यालले काजी र हुनेवाला काजिनीका लागि कोठा सजाउँदैछन् । त्यहाँ उनीहरूले सुहागरात मनाउनेछन् ।

दोस्रो दृश्यमा काजीको विवाह भइसकेको देखाइन्छ । र, प्रस्टसँग लेखिन्छ- ‘खेल त सकिएकै हो, तर कथा बाँकी छ ।’ हेरौं ‘कबड्डी ५’ मा आइपुग्दा के कस्तो कथा बाँकी छ ? कथाले काजीको गृहप्रवेश गर्छ वा अन्यत्रै भड्किन्छ ?

तीन मिनेट लामो टिजर निकै रमाइलो र रहस्यमय छ । रहस्य चाहिँ, विपिन कार्कीको प्रवेशसँगै हुन्छ । उनको इन्ट्री एकदम चोटिलो देखिन्छ । त्यसपछि के हुन्छ ?

टिजरमा अर्को ट्वीस्ट पनि छ । मैयाँ गाउँ फर्किन्छिन् ।  कि फेरि ‘कबड्डी ५’ मा काजी र मैयाँको प्रेम मौलाउँछ त ? कबड्डीको सुरुवाती लयबाट यसको पाँचौ श्रृंखला विचलित छैन । दृश्य, घटनाक्रम र संवाद उत्तिकै तगडा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?