News Summary
Generated by OK AI. Editorially reviewed.- मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन भएका छन्।
- एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठन गरेको समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो।
- पौडेल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव र अल्फा अटोमोटिभ प्रालिका निर्देशक हुन्।
७ असोज, काठमाडौं । अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन भएका छन्।
एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठन गरेको समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो।
पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशक छन्। उनी लामो समयदेखि नेपालको अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा सक्रिय रहँदै आएका छन्।
नेपालमा रोयल इन्फिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि नै आबद्ध पौडेलले अटोमोबाइल बजारको विस्तारलाई नजिकबाट अनुभव गरेका छन्। सुरुवाती समयमा एउटा शोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि हालको विस्तारित बजारसम्मको यात्रामा उनी संलग्न रहँदै आएका हुन्।
पौडेलले नाडामार्फत अटोमोबाइल क्षेत्रसँग सम्बन्धित कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण, स्थानीय उत्पादन तथा पार्टपूर्जाको प्रयोगलगायत विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन्।
नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय उत्पादन तथा एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्डअनुसारका स्वदेशी पार्टपूर्जाको प्रयोग र व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेकोमा उनले जोड दिँदै आएका छन्।
एफएनसीसीआईको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ। पौडेलको नयाँ जिम्मेवारीसँगै उनको भूमिका अटोमोबाइल व्यवसायमा मात्र सीमित नभई समग्र यातायात तथा पारवहन क्षेत्रका नीतिगत र व्यावसायिक विषयमा समेत केन्द्रित हुने भएको छ।
प्रतिक्रिया 4