७ असोज, काठमाडौं । महिला, बालबालिकामन्त्री सीता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आईएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा बुधबार भएको भेटवार्तामा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा अन्य संवेदनशील समूहको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो ।
मन्त्री बादीले विपद्को कठिन समयमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आईएफआरसीले प्रभावित समुदायका लागि गर्दै आएको मानवीय सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
उनले विपद्का बेला तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोग र सुरक्षित पुनर्स्थापनालाई पनि समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइन् ।
आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा आश्रय, खाद्य सहयोग, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा मोबाइल स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगलगायतका क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।
भेटमा यस्ता सहयोगलाई अझ व्यवस्थित, समन्वित र आवश्यकता भएका समुदायसम्म प्रभावकारी रूपमा पुर्याउने विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया 4