७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा जनशक्ति पदपूर्ति निष्पक्ष र पारदर्शी बनाउन ध्यानाकर्षण गराएको छ ।
रास्वपा सुदूरपश्चिम समितिले बुधबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
रास्वपाले पदपूर्ति प्रक्रिया प्रचलित कानुन, नियम, कार्यविधि तथा निर्धारित मापदण्डअनुसार योग्यता र क्षमताका आधारमा गर्नुपर्ने जनाएको छ ।
ध्यानाकर्षण पत्रमा रास्वपाले विश्वविद्यालयको संस्थागत स्वायत्तता र कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै पार्टीका प्रदेश, जिल्ला, पालिका तथा अन्य तहका पदाधिकारी, सदस्य, सांसद वा पार्टीसँग सम्बन्धित कुनै पनि व्यक्तिले आफ्नो पद, पहुँच वा पार्टीको नाम प्रयोग गरी पदपूर्ति प्रक्रियामा दबाब, प्रभाव, व्यक्तिगत सिफारिस वा हस्तक्षेप नगर्न स्पष्ट निर्देशन गरिएको पनि जनाएको छ ।
पार्टीको नाम वा राजनीतिक पहुँचको दुरुपयोग गरी विश्वविद्यालयको स्वायत्तता तथा पदपूर्ति प्रक्रियामा हस्तक्षेप गर्ने व्यक्तिमाथि पार्टीको विधान तथा आन्तरिक व्यवस्थाअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने रास्वपाका प्रदेश महामन्त्री सन्तोष जोशीले बताए ।
‘विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा चिकित्सकीय विकासका लागि आवश्यक सहयोग र सहजीकरण गर्न पार्टी सकारात्मक रहेको छ । तर त्यसलाई विश्वविद्यालयको निर्णय वा पदपूर्ति प्रक्रियामा राजनीतिक प्रभावका रूपमा प्रयोग नगर्ने हामीले प्रष्ट पारेका छौं,’ जोशीले भने ।
प्रतिक्रिया 4