+
+
Shares

महेश बस्नेतका तीन प्रस्ताव- संसद् पुनर्स्थापना, सरकारविरुद्ध आन्दोलन र वामपन्थी एकता

‘अदालतमा विचाराधीन पुरानो संसद् पुनर्स्थापना स्थापना गरेर सरकारका प्रतिगामी अधिनायकवादी कदम सच्चाउन पर्दछ। जसबाट एमालेको पुरानो हैसियत जोगाउने राम्रो अवसर पनि हो’, सचिव बस्नेतले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:५६

७ असोज, काठमाडौं । एमाले सचिव महेश बस्नेतले एमालेको हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनामा लाग्नुपर्ने धारणा राखेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले धारणा राख्दै संसद् पुनर्स्थापनाको एजेण्डाको वकालत गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा पनि यो प्रसंग छ । संसद् पुनरस्थापनाको मुद्दा अहिले पनि अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो लगाउनेतर्फ लाग्नुपर्ने धारणा राखेका हुन् ।

‘अदालतमा विचाराधीन पुरानो संसद् पुनर्स्थापना स्थापना गरेर सरकारका प्रतिगामी अधिनायकबादी कदम सच्चाउन पर्दछ। जसबाट एमालेको पुरानो हैसियत जोगाउने राम्रो अवसर पनि हो’ सचिव बस्नेतले भनेका छन् । उनले बालेन सरकार विरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने पनि प्रस्ताव गरेका छन् ।

‘बालेन सरकारको मनपरी शासन, जनअधिकारमाथिको हस्तक्षेप, असहिष्णु कार्यशैली र सुशासनका कमजोरीविरुद्ध एमालेले अब सशक्त जनआन्दोलनको नेतृत्व गर्नुपर्छ’ बस्नेतले भने ।

उनले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेको संगठन, नीति र नेतृत्वलाई अझ बलियो बनाउँदै विचार मिल्ने बामपन्थी दलसँग कार्यगत एकता र सहकार्य गरी गुमेको जनमत फिर्ता गराउन लाग्नुपर्ने बताएका छन् ।

उनले पार्टीको पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग जोड्न नहुने धारणा राखेका छन् ।

उनले पुनर्गठन भनेको पार्टी सुधार, संगठन सुदृढीकरण, कार्यशैलीमा सुधार र जनसम्बन्ध विस्तार भएको उल्लेख गरेका छन् ।

उनले स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै संगठन, नीति र नेतृत्वलाई थप बलियो बनाउनुपर्ने बताए।

साथै, विचार मिल्ने वामपन्थी दलहरूसँग कार्यगत एकता र सहकार्य गर्दै गुमेको जनमत फिर्ता ल्याउने दिशामा अघि बढ्नुपर्ने उनको धारणा थियो।

पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने उनको धारणा छ ।

आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा पार्टीका सम्बन्धित कमिटीमा बहस गर्नुपर्ने बताए।

‘पार्टीको आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिबारे पार्टीले स्पष्ट आचारसंहिता बनाउनुपर्छ र आवश्यकताअनुसार कारबाहीको विषय बनाउनुपर्छ’ उनले भने ।

बस्नेतले पार्टी र नेतृत्वको रक्षा गर्नु गलत तथा नेतृत्वलाई कमजोर बनाउनु नै क्रान्तिकारी कदम हो भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताए।

गलत देखिए नेतृत्वलाई सचेत गराउने, नेतृत्वलाई स्थापित गर्ने र मतभेदलाई विधिसम्मत संवादबाट समाधान गर्ने संस्कार नै जनवादी केन्द्रीयता र जनताको बहुदलीय जनवादको मूल भावना भएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?