+
+
Shares

ट्रम्पले सी जिनफिङलाई किन दिए चीलको मूर्ति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ९:५९
Photo Credit : Bloomberg

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकीय रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई सेतो टाउको भएको चीलको मूर्ति उपहार दिएका छन्।
  • ट्रम्पले अमेरिका–चीनबीचका विवादित विषयमा आफू र सीले ‘ठूलो प्रगति’ गरेको भन्दै व्यापारसम्बन्धी अस्थायी सहमति दुई महिनासम्म कायम राख्ने बताएका छन्।
  • सी जिनफिङले अमेरिकाले ‘ताइवान स्वतन्त्रताको विरोध गर्ने सही धारणा’ कायम राख्नुपर्ने भन्दै ताइवान विषयमा सावधानीपूर्वक अघि बढ्न आग्रह गरेका छन्।

९ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई अमेरिकी राष्ट्रिय प्रतीक  सेतो टाउको भएको चीलको मूर्ति उपहार दिएका छन् ।

राजकीय रात्रिभोजका क्रममा ट्रम्पले उक्त चीलको मूर्ति सीलाई हस्तान्तरण गरेका हुन् ।

उनले चीललाई ‘अमेरिकाको स्वतन्त्र र उन्मुक्त भावनाको प्रतीक’का रूपमा व्याख्या गरे ।

अन्तर्राष्ट्रिय कूटनीतिमा उपहार आदान–प्रदानलाई सम्बन्ध सुधार र आपसी सद्भाव व्यक्त गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ । तर यस्ता उपहारमा सांस्कृतिक तथा राजनीतिक सन्देशसमेत जोडिने भएकाले यसको चयन कहिलेकाहीँ संवेदनशील हुने बीबीसीले जनाएको छ ।

दीर्घकालीन व्यापार सम्झौताको प्रयास

ट्रम्पले यसअघि अमेरिका र चीनबीचका विभिन्न विवादित विषयमा आफू र सीले ‘ठूलो प्रगति’ गरेको बताएका थिए ।

बीबीसीका अनुसार अमेरिका र चीनले व्यापारसम्बन्धी अस्थायी सहमति पनि थप दुई महिनासम्म कायम राख्ने सहमति गरेका छन् । यस अवधिमा दुवै पक्षले दीर्घकालीन व्यापार सम्झौताको प्रयास जारी राख्नेछन् ।

तर व्यापार युद्धको अनिश्चितता भने पूर्ण रूपमा हटिसकेको छैन । स्याक्सो मार्केट्सकी लगानी रणनीतिकार चारु चनानाका अनुसार व्यवसायीहरूले वास्तविक परिवर्तनका रूपमा नयाँ महसुलसम्बन्धी व्यवस्था सार्वजनिक हुने, दुर्लभ खनिजको आपूर्ति, अमेरिकी कृषि उत्पादनको खरिद तथा अमेरिकी चिप निर्यातसम्बन्धी नियममा परिवर्तन जस्ता व्यावहारिक संकेत खोजिरहेका छन् ।

उनले दुई नेताबीचको भेटलाई ‘सफलताभन्दा स्थायित्वमा केन्द्रित शिखर बैठक’ का रूपमा व्याख्या गरेकी छन् ।

ताइवानको विषयमा चीनको दबाब

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिकाले ‘ताइवान स्वतन्त्रताको विरोध गर्ने सही धारणा’ कायम राख्नुपर्नेमा जोड दिएका छन् । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले अमेरिकालाई ताइवानको विषयमा सावधानीपूर्वक अघि बढ्न आग्रह गरेका छन् ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा सेप्टेम्बर २४, २०२६ मा अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा स्वागत समारोह आयोजना गरेका थिए । फोटो : सिन्ह्ववा

सीले ताइवानसम्बन्धी विषयलाई चीन–अमेरिका सम्बन्धको दीर्घकालीन विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ । तर स्वशासित ताइवानले आफूलाई चीनको प्रत्यक्ष शासनबाट अलग राजनीतिक व्यवस्थाका रूपमा सञ्चालन गर्दै आएको छ ।

चीनले पछिल्ला वर्षहरूमा ताइवानको स्वतन्त्रताको पक्षमा हुने गतिविधिको कडा विरोध गर्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्न सक्ने संकेतसमेत दिँदै आएको छ ।

अमेरिकाको ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन । तर अमेरिकी कानुनअनुसार अमेरिकाले ताइवानलाई आफ्नो आत्मरक्षाका लागि आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ । यही कारण अमेरिकाले चीनसँगको कूटनीतिक सम्बन्ध र ताइवानसँगको सुरक्षा सम्बन्धबीच सन्तुलन कायम गर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?