+
+
Shares

बाढीले क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० बढी इन्जिनियर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्जिनियर्स एसोसिएसनले भोटेकोशी र त्रिशूली बाढी–पहिरोले क्षतिग्रस्त संरचनाको अध्ययनका लागि १५० भन्दा बढी इन्जिनियर परिचालन गरेको छ।
  • एसोसिएसनका अनुसार १२ वटा स्थानीय तहबाट प्राविधिक सहयोगको अनुरोध आएपछि आठ वटा विषयगत समिति बनाएर क्षति पहिचान र जोखिम विश्लेषण गरिरहेको छ।
  • विज्ञ टोलीले स्थलगत निरीक्षण गरी भवन र पूर्वाधारको क्षति तथा सुरक्षित पुनःस्थापनाका लागि प्रतिवेदन तयार गरेर विभाग र प्राधिकरणमा पेश गरेको छ।

९ असोज, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको प्राविधिक अध्ययनका लागि नेपाल इन्जिनियर्स एसोसिएसनले १५० भन्दा बढी इन्जिनियर परिचालन गरेको छ ।

बाढी प्रभावित स्थानीय तहबाट प्राविधिक सहयोगका लागि आएको अनुरोधका आधारमा एसोसिएसनले विभिन्न विधाका इन्जिनियर तथा आर्किटेक्टलाई स्थलगत अध्ययनमा खटाएको हो । एसोसिएसनका केन्द्रीय सदस्य तथा सूचना अधिकारी इन्जिनियर यमकृष्ण पौडेलका अनुसार हालसम्म १२ वटा स्थानीय तहबाट प्राविधिक सहयोगका लागि अनुरोध आएको छ ।

‘स्थानीय तहबाट आवश्यकताका विषयमा जानकारी आएपछि सम्बन्धित क्षेत्रमा विज्ञ टोली पठाएका छौं,’ पौडेलले अनलाइनखबरसँग भने, ‘क्षतिग्रस्त संरचनाको अवस्था हेर्ने, जोखिम पहिचान गर्ने र तत्काल गर्नुपर्ने कामका विषयमा प्राविधिक सुझाव दिने काम भइरहेको छ ।’

एसोसिएसनले बाढी प्रभावित क्षेत्रमा प्राविधिक सहजीकरणका लागि आठ वटा विषयगत समिति गठन गरेको छ । ती समितिमार्फत पूर्वाधारको क्षति पहिचान, संरचनागत सुरक्षा परीक्षण, जोखिम विश्लेषण, प्राथमिकता निर्धारण तथा सुरक्षित पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक प्राविधिक सुझाव दिने काम भइरहेको पौडेलले बताए ।

भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोले विभिन्न स्थानीय तहका बस्ती, सडक, पुल, भवन, खानेपानी तथा सरसफाइका संरचना, सञ्चारलगायतका पूर्वाधारमा क्षति पुर्‍याएको थियो । त्यसपछि विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राविधिक रूपमा सुरक्षित बनाउन एसोसिएसनले स्वयंसेवी इन्जिनियर तथा आर्किटेक्ट परिचालन गर्ने निर्णय गरेको थियो ।

एसोसिएसनले पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा आठ विषयगत समितिमार्फत काम गरिरहेको जनाएको छ । समितिहरूले सम्बन्धित क्षेत्रको प्राविधिक सूचना संकलन, क्षतिको प्रारम्भिक पहिचान, जोखिम विश्लेषण र पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्राविधिक सहजीकरण गरिरहेका छन् ।

भवन तथा संरचनाको अध्ययन

बाढी आएको दिन साँझ बसेको बैठकबाटै एसोसिएसनले भवन तथा संरचनामा पुगेको क्षतिको प्राविधिक अध्ययन सुरु गरेको थियो । बाढी, पहिरो, जमिन भासिने तथा कटानका कारण घर तथा अन्य संरचना पल्टिने, पुरिने, भासिने वा विस्थापित हुने अवस्थाको अध्ययन गर्न विज्ञ समिति गठन गरिएको थियो ।

इन्जिनियर सुमन थापाको संयोजकत्वमा गठन गरिएको समितिमा इन्जिनियर टुकलाल अधिकारी, इन्जिनियर उदयराज न्यौपाने, इन्जिनियर डा. प्रदीप पौड्याल, इन्जिनियर राजेन्द्र गौतम तथा आर्किटेक्ट नवीन देवकोटा सदस्य छन् ।

त्यस्तै, टनेलसम्बन्धी प्राविधिकहरू इन्जिनियर छत्रबहादुर बस्नेत, दिलेन्द्रराज पाठक र कङ्गडा प्रसाईंले उद्धार तथा अन्य प्राविधिक गतिविधिमा सहयोग र समन्वय गरिरहेका छन् ।

उक्त विज्ञ समितिले प्रभावित आयोजना तथा क्षेत्रको अवस्था अध्ययन गरी भवन तथा संरचनामा पुगेको क्षति, जोखिमका प्रमुख कारण, सम्भावित जोखिम न्यूनीकरण तथा सुरक्षित पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक प्राविधिक उपाय समेटिएको प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन सहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेश गरिएको एसोसिएसनले जनाएको छ ।

इन्जिनियर डा. बलबहादुर पराजुली, आर्किटेक्ट जनकराज जोशी, इन्जिनियर डा. सुनिल पौड्याल, इन्जिनियर सचिनकुमार सुवेदी र इन्जिनियर लोकेन्द्र अधिकारी सम्मिलित टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

स्थलगत निरीक्षणका क्रममा भवन तथा संरचनामा पुगेको क्षति, विद्यमान समस्या, जोखिमको अवस्था तथा तत्काल आवश्यक प्राविधिक हस्तक्षेपबारे तथ्य तथा विवरण संकलन गरिएको एसोसिएसनले जनाएको छ । संकलित प्राविधिक तथ्यका आधारमा समस्या समाधान, जोखिम न्यूनीकरण, सुरक्षित पुनःस्थापना तथा आवश्यक पुनर्निर्माणका उपाय समेटिएको प्रतिवेदन तयार गर्ने काम अघि बढाइएको छ ।

पौडेलका अनुसार स्थानीय तहले माग गरेअनुसार एसोसिएसनले सम्बन्धित विधाका दक्ष तथा अनुभवी इन्जिनियर र आर्किटेक्टको टोली परिचालन गरिरहेको छ । यस्ता टोलीले निःशुल्क रूपमा क्षति मूल्याङ्कन, पूर्वाधार निरीक्षण, संरचनागत सुरक्षा परीक्षण, जोखिम पहिचान तथा सुरक्षित पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताए ।

‘अहिलेको मुख्य उद्देश्य क्षतिग्रस्त संरचना तत्काल बनाउनेभन्दा पनि कुन संरचना सुरक्षित छ, कहाँ थप जोखिम छ र कहाँ पुनर्निर्माण गर्न आवश्यक छ भन्ने प्राविधिक रूपमा पहिचान गर्नु हो,’ पौडेलले भने, ‘स्थानीय तहबाट माग आएअनुसार थप जनशक्ति परिचालन गर्दै जानेछौं ।’

एसोसिएसनले यसअघि सार्वजनिक अपिल जारी गर्दै बाढी प्रभावित स्थानीय तहलाई प्राविधिक सहयोग आवश्यक भए समन्वय गर्न आग्रह गरेको थियो । सोही अपिलपछि स्थानीय तहबाट प्राप्त अनुरोधका आधारमा प्राविधिक टोली परिचालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?