+
+
Shares

काठमाडौंमा लागुऔषधसहित ७ जना पक्राउ

पक्राउ परेका सातै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १५:०४

१० असोज, काठमाडौं । काठमाडौंमा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिहीबार गते राति चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ट्रामाडोल १२० क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई चन्द्रागिरि–२ बस्ने २२ वर्षीय रुबिन सुनार र धादिङ धुनबेसी नगरपालिका–५ का २१ वर्षीय सन्तोष तामाङ थिए ।

उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले शुक्रबार चन्द्रागिरि नगरपालिका–१५ नैकापबाट थप तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि–६ का ३४ वर्षीय बिक्रम घले, मकवानपुर थाहा नगरपालिका–१२ घर भई कीर्तिपुर नगरपालिका मैत्रीनगर बस्ने २४ वर्षीय बिजय तामाङ र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई चन्द्रागिरि–२ थानकोट बस्ने ३४ वर्षीय गणेश लामा छन् ।

प्रहरीका अनुसार बिक्रम घलेसँगको सोधपुछका क्रममा ट्रामाडोल बिक्री गर्ने व्यक्तिका रूपमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ सिर्जना टोल बस्ने ३३ वर्षीय ललितबहादुर स्याङतान र सिन्धुली हरिहरपुर नगरपालिका–१ घर भई सोही स्थानमा बस्ने ३२ वर्षीय रत्न तामाङको नाम खुलेको थियो ।

उनीहरूको खोजी गर्ने क्रममा शुक्रबार साँझ बौद्ध मुलपानीबाट दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३.०१ ग्राम, डाइजेपाम ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल र ट्रामाडोल १८ हजार १४० क्याप्सुल बरामद गरेको छ ।

त्यस्तै, बा.प्र. ०३–००२ प ७४८ नम्बरको मोटरसाइकल, ६ थान मोबाइल र नगद ५ लाख ६० हजार ४ सय रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सातै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?