१ भदौ, धनकुटा । धनकुटामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका-९, मुलघाटस्थित कोशी लोकमार्गबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सुनसरीको धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १-०२-०४४ प ३५८ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले चेकजाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकल चालक धनकुटा नगरपालिका वडा नं. ५, बालमन्दिरका २४ वर्षीय मन कुमार राई र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २० वर्षीय विजय राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विजय राईले बोकेको निलो झोलाबाट ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्रामका २२ पत्ता अर्थात् २ सय २० क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइड २० मिलिग्रामका २० पत्ता अर्थात् २ सय ट्याब्लेट तथा स्पास्पेन नामक औषधिका २ पत्ता अर्थात् १९ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
मोटरसाइकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4