१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापनइतर समूहले छुट्टाछुट्टै तयारी गरिरहेका बेला उम्मेदवारी मनोनयन शुल्कमा समेत अन्तर देखिएको छ ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले १५औं महाधिवेशनका लागि केन्द्रीय सभापतिको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकेको छ ।
उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
तर, देउवा नेतृत्वको संस्थापनइतर समूहले तयार गरेको निर्वाचन निर्देशिकामा उम्मेदवारी शुल्क तुलनात्मक रूपमा कम राखिएको छ । इतर समूहको निर्देशिकाअनुसार केन्द्रीय सभापतिका उम्मेदवारले ३० हजार रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्नेछ ।
यस्तै उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
केन्द्रीय सभापतिमा उम्मेदवारी दिन गगन नेतृत्वको महाधिवेशनमा भन्दा देउवा पक्षको महाधिवेशनमा १० हजार रुपैयाँ कम शुल्क लाग्ने छ । देउवा पक्षले उपसभापति र महामन्त्रीमा पाँच हजार तथा केन्द्रीय सदस्यमा एक हजार रुपैयाँ कम शुल्क तोकिएको छ ।
सहमहामन्त्रीका आकांक्षीका लागि मनोनयन शुल्क भने दुवै पक्षले २० हजार रुपैयाँ नै राखेका छन् ।
महाधिवेशनमा केन्द्रीय तहमा मात्र नभएर तल्लो तहका पदमा पनि दुई समूहले निर्धारण गरेको मनोनयन शुल्कमा अन्तर देखिएको छ ।
गगन नेतृत्वको महाधिवेशनमा प्रदेश सभापतिका लागि २० हजार, जिल्ला सभापतिका लागि १५ हजार, प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि १० हजार र प्रदेशसभा क्षेत्रीय सभापतिका लागि सात हजार रुपैयाँ शुल्क तोकिएको छ ।
देउवा नेतृत्वको समूहले भने प्रदेश सभापतिका लागि १० हजार, जिल्ला सभापतिका लागि पाँच हजार, प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि तीन हजार पाँच सय र प्रदेशसभा क्षेत्रीय सभापतिका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
स्थानीय तहमा पनि शुल्कमा ठूलो अन्तर छ । गगन नेतृत्वको महाधिवेशनमा वडा सभापतिका लागि एक हजार, गाउँपालिका तथा नगरपालिकाका सभापतिका लागि पाँच हजार र उपमहानगर तथा महानगर सभापतिका लागि सात हजार रुपैयाँ तोकिएको छ ।
देउवा नेतृत्वको इतर समूहले भने वडा सभापतिका लागि २५० रुपैयाँ, गाउँपालिका सभापतिका लागि एक हजार, नगरपालिका सभापतिका लागि दुई हजार तथा उपमहानगर–महानगर सभापतिका लागि दुई हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरेको छ ।
गगन नेतृत्वको संस्थापन पक्षले १६–१६ असोजमा १५औं महाधिवेशन गर्दैछ भने देउवा पक्षले केन्द्रीय महाधिवेशनको मिति २१–२३ मंसिरका लागि तोकेको छ ।
प्रतिक्रिया 4