+
+
Shares

बाढीको बहाव घटेपछि मर्स्याङ्दीका दुवै आयोजनाबाट विद्युत् उत्पादन सुरु

लमजुङ जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुन: सञ्चालनमा आएका हुन् ।

रासस रासस
२०८३ असोज १२ गते २०:४१

१२ असोज, लमजुङ । मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुन:सञ्चालनमा आएका छन् ।

लमजुङ जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुन: सञ्चालनमा आएका हुन् ।

बेँसीसहर नगरपालिका–१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना सोमबार दिउँसोदेखि पुन: सञ्चालनमा आएको आयोजना प्रमुख तारादत्त भट्टराईले जानकारी दिए ।

उनका अनुसार उत्पादन बन्द गरेर आयोजनाबाट आएको पानी पूर्ण रूपमा नदीतर्फ निकास गरिएको थियो । नदीको बहाव सामान्य बन्दै गएपछि आज दिउँसोदेखि पुन: विद्युत् उत्पादन सुरु गरिएको उनले बताए ।

भट्टराईले ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनामा ३५–३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहेका बताए ।

यसैगरी, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना पनि सोमबार बिहान ११:५० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

आयोजनाका इन्जिनियर कर्ण अधिकारीले आवश्यक प्राविधिक काम, सरसफाइ तथा अन्य व्यवस्थापन पूरा गरेपछि विद्युत् उत्पादन पूर्ण रूपमा सुरु गरिएको हो ।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि दुवै आयोजनाले सुरक्षालाई प्राथमिकता दिँदै विद्युत् उत्पादन रोकेका थिए । नदीको बहाव घट्दै गएपछि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम पूरा गरी दुवै आयोजना पुन: सञ्चालनमा ल्याइएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?