१३ असोज, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएपनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत: असफल भएको आरोप लगाएका छन् ।
मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताएका हुन् ।
सांसद बरालले सरकारले ६ महिनाको अवधिमा उल्लेख्य काम गर्न नसकेको भन्दै विभिन्न सूचकहरूमा सरकार चुकेको आरोप लगाइन् ।
उनले सुकुमवासी समस्याको व्यवस्थापन, सार्वजनिक संस्थानहरूमा भएको विवादित नियुक्ति र पारदर्शीताको अभावलाई सरकारको कमजोरीका रूपमा चित्रण गरे ।
‘जान्नेलाई छान्ने’ भन्दै सत्तामा आएको सरकारले आफ्ना मान्छे भर्ती गर्ने उद्देश्यले संस्थानहरूमा हस्तक्षेप गरेको उनको भनाइ छ ।
‘राजश्व संकलनमा गिरावट आएको छ, लगानीको वातावरण ठप्प छ र सेयर बजार ओरालो लागेको छ । सरकारले बजेट र मौद्रिक नीतिबाट अर्थतन्त्रलाई चलायमान बनाउन सकेन, जसका कारण निजी क्षेत्र लगानी गर्न डराइरहेको छ,’ उनले भने ।
साथै, प्रधानमन्त्रीले संयुक्त महासभाको भ्रमणबारे संसदलाई जानकारी गराउनु पर्नेमा बेवास्ता गरेको भन्दै उनले प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको आरोप समेत लगाए ।
बरालले बजारमा व्याप्त महँगी, कृत्रिम अभाव र मिसावट नियन्त्रण गर्न सरकारले पूर्ण असक्षमता देखाएको बताए ।
प्रतिक्रिया 4