१४ असोज, काठमाडौं । प्रतिनिधिसभामा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले प्रतिनिधिसभाको बैठकमा बोल्दै नोटबन्दीको विषय उठाएका हुन् ।
विगत ३५ वर्षसम्म सत्तामा रहेकाहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी कालो धन थुपारेको आरोप लगाए । अनि कालो धनकै आडमा जननिर्वाचित सरकारविरुद्ध षडयन्त्र गर्न खोजेको भन्दै नोटबन्दीको माग गरे ।
‘नोटबन्दी गर्नुपर्यो । तत्काल यी नोटहरूलाई बैंकिङ प्रणालीमा ल्याउनुपर्यो र नयाँ नोट जारी गर्नुपर्यो’ उनले भने ।
भारतमा पनि नोट बन्द गरिएको उल्लेख गर्दै उनले त्यसबाट सिक्नुपर्ने बताए ।
त्यसपछि नेकपा प्रमुख सचेतक युवराज दुलाल बोले । उनले रास्वपा सांसद न्यौपानेको प्रस्तावमा समर्थन जनाए ।
‘म सरकार पक्षमा पूर्ववक्ता माननीयज्यूले राखेको विषयमा पूर्ण समर्थन, शतप्रतिशत समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पूराना नोटहरूलाई एक हजार र पाँच सय रुपैयाँको नोटहरूलाई नोटबन्दी गर्नका लागि आह्वान गर्दछु ।’
यस्तो प्रस्तावमा नेकपाका सबै सांसद हस्ताक्षर गरेर दिन समेत तयार रहेको बताए ।
साथै प्रश्न गरे, ‘नोटबन्दी गर्ने कार्यमा हाम्रो पार्टीको समर्थन छ, तर यो कदम चाल्न सरकारलाई कसले रोकेको छ ?’
प्रतिक्रिया 4