१४ असोज, भरतपुर । एक समय थियो, चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ७, चण्डीस्थानका बासिन्दा आकाशमा बादल देखिना साथ डराउँथे । सानो–ठूलो पहिरो जाने क्रम रोकिएको थिएन ।
माटो र ढुंगा बगेर तलतिर आउँदा खोल्सा–खोल्सी बन्थे । तलका खेतबारी र बस्ती जोखिममा थिए । आकाशमा बादल मडारिएसँगै माथि थुनिएको ताल हेर्नु यहाँका स्थानीयवासीको दैनिकी जस्तै थियो ।
अहिले अवस्था फेरिएको छ । माटो थामिएको छ । घाँस र बोटबिरुवा उम्रिन थालेका छन् ।
तीन वर्षअघिसम्म निरन्तर माटो बग्ने गरेको करिब ८० मिटर लामो पहिरो क्षेत्रमा अहिले माटो बग्ने क्रम करिब ९५ प्रतिशतसम्म रोकिएको चण्डिकास्थान सामुदायीक वनका अध्यक्ष अमृत गुरुङ बताउँछन् ।
पहिरो रोक्न के कस्ता उपाय खोजिए ? भन्ने चर्चा गर्नुभन्दा पहिला चण्डिस्थानमा तीन दशक पहिले के भएको थियो ? त्यो हेरौं ।
२०५४ सालको असोजमा आएको भीषण बाढीले चण्डिस्थानमा ठूलो क्षति पुर्यायो । घडेरी खोला क्षेत्रमा पानी थुनिएर ठूलो ताल बनेपछि तलतिर रहेका बस्तीमा त्रास फैलियो । स्थानीयहरू रातभरी सुत्न सकेनन् ।

हुन पनि त्यतिबेला ताल फुटेको भए आसपासका बस्ती, घर र खेतीयोग्य जमिन बगाउने निश्चित प्रायः थियो । यो विषय तत्कालीन ईच्छाकामना–७ का वडा सदस्य टेकबहादुर चेपाङले वडा अध्यक्ष भक्तमान गुरुङलाई खबर गरे । त्यसपछि जिल्ला समन्वय समितिमा जानकारी गराइयो ।
तालको पानीलाई सुरक्षित रूपमा निकास दिन भरतपुर ब्यारेकबाट करिब ३०० जना सैनिकको टोली खटियो । तर समस्या समाधान भएन ।
केही उपाए नलागेपछि १९४ घरलाई सुरक्षित स्थानमा सारियो । सुरक्षित भनिएको ठाउँमा स्थानान्तर भएपनि समस्या पूर्ण रूपमा सकिएन । किनभने पहिरो जाने क्रम जारी रह्यो । पहिरो रोकथामका लागि गरिएका विभिन्न प्रयास असफल भए ।
त्यसपछि स्थानीय समुदायसँगै बसेर दीर्घकालीन उपाय खोज्ने प्रयास भएको सामुदायिक वनका अध्यक्ष गुरुङ बताउँछन् । पहिरो रोकथामका लागि बाहिरबाट प्रविधि ल्याएर मात्र समाधान खोजिएन। स्थानीय समुदायसँग छलफल गरियो । विशेषगरी चेपाङ समुदायसँग पहिरो र माटो संरक्षणका विषयमा लामो समयदेखि प्रयोग हुँदै आएको व्यवहारिक ज्ञानलाई महत्त्व दिइयो ।

कुन विरुवाले माटो समात्छ ? पानीको बहाव कसरी कम गर्न सकिन्छ ? स्थानीय रूपमा उपलब्ध बाँस, ढुंगा र अन्य सामग्री कसरी प्रयोग गर्न सकिन्छ ? यिनै विषयमा स्थानीयसँग छलफल भयो । त्यसपछि इन्जिनियर तथा प्राविधिकसँग पनि छलफल गरेर काम अगाडि बढाईएको प्रकृतिमा आधारित समाधान कार्यक्रमका कार्यक्रम संयोजक शिव सुवेदी बताउँछन् । स्थानीय ज्ञान र आधुनिक प्रविधिलाई जोडेर जैविक–इन्जिनियरिङ विधिबाट पहिरो नियन्त्रण गर्ने काम भएको उनको भनाइ छ ।
सुवेदीका अनुसार स्थानीय चेपाङ समुदायले पहिरो नियन्त्रणमा राम्रो गर्दै आएको थाहा पायौ । उनीहरूको ज्ञान, सीपलाई प्रविधिको प्रयोगबाट पहिरो नियन्त्रण गर्न सकिने सम्भावनालाई परीक्षण गरिएको र त्यो परीक्षण सफल भएको उनी बताउँछन् ।
पहिरोको जोखिममा रहेको बस्तीमा बसोबास गर्दै आएका चेपाङ समुदायले स्थानीय स्रोत, साधन र परम्परागत ज्ञानको प्रयोग गर्दै बाढी तथा पहिरो रोकथामको प्रयास गर्दै आएका छन् ।
ठूलो स्याङ्दीका स्थानीय भीमबहादुर चेपाङले यहाँ दुई महिनासम्म रोकथामको लागि काम गरे । उनका अनुसार उनीहरू सानै उमेरदेखि नै पहिरो जाने ठाउँमा माटो सम्माउने र पहिरो रोक्ने काम गर्दै आएका थिए ।
‘पहिरो जाने ठाउँमा घर भएका कारण सधैंजसो पहिरोले दुःख दिने गरेको छ,’ चेपाङले भन्छन्, ‘बोटबिरुवा बाँच्यो भने पहिरो पनि रोकिन्छ, भैँसी–बाख्रा चराउन पनि सजिलो हुन्छ । त्यसैले अम्रिसो, दतिउन लगायतका बिरुवा लगाउने गरेका छौं ।’

ठूलो पहिरो गएको ठाउँमा भने स्थानीयले बाँसको प्रयोग गर्ने गरेको चेपाङले बताए । बाँस र अम्रिसोले माटो समात्ने भएकाले पहिरो विस्तार नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘पहिरो गएको भिरमा तीनवटा बाँस बाँधेर माथिबाट माटोले पुर्ने र तलबाट पलाएर आउँछ । त्यसको माथि अम्रिसो लगाएपछि माटो समाउँछ ।’
पहिरो रोक्ने प्रविधि आफूले कसैबाट औपचारिक रूपमा नसिकेको चेपाङ बताउँछन् । पुस्तौंदेखि पहिरो र भेलबाढीसँग जुध्दै आएको अनुभवका आधारमा विभिन्न उपाय खोजिएको उनको भनाइ छ ।
‘हामीलाई त कसैले सिकाएको छैन । पहिला पनि यो ठाउँमा पहिरो जाने गरेको थियो । पछि त ठूलो पहिरो गयो । पहिरो गयो भने बाख्रा चराउने ठाउँ हुँदैन । हामीले बिरुवा रोपीहाल्छौं,’ चेपाङले भने ।
त्यतिबेला ठूलो स्याङ्दीका ३६ जना चेपाङले करिब डेढ महिनासम्म पहिरो नियन्त्रणको काम गरेका थिए । पहिरो र भेलबाढी उनीहरूका लागि नयाँ समस्या होइन । उनले भने, ‘पहिरो, भेलबाढीसँग खेल्दै हुर्कियौँ। जे जानेका छौँ, त्यही गर्दा सफल पनि भएका छौं ।’
प्राकृतिक विपद्सँग निरन्तर जुध्दै आएको चेपाङ समुदायले आफ्नै वरपर उपलब्ध स्रोत–साधन र पुस्तौंदेखिको अनुभवलाई प्रयोग गरेर पहिरो नियन्त्रणको अभ्यास गरिरहेको छ । स्थानीयको यो अभ्यासले विपद् रोकथाममा समुदायको परम्परागत ज्ञान र स्थानीय प्रविधिको भूमिकासमेत देखाएको छ ।
के हो जैविक प्रविधि ?
चण्डीस्थानमा गरिएको कामको एउटा महत्त्वपूर्ण काम हो- जैविक प्रविधि । माटो कटान, पहिरो र पानीको तीव्र बहाव नियन्त्रण गर्न वनस्पति तथा प्राकृतिक सामग्रीलाई इन्जिनियरिङ संरचनासँग जोडेर प्रयोग गरीएको यो विधि सफल पनि देखिन्छ ।
जैविक प्रविधिमा बाँस, घाँस, झाडी, बोटबिरुवा तथा स्थानीय रूपमा उपलब्ध जैविक सामग्री प्रयोग गरेर पहिरो रोक्ने काम भएको छ । आवश्यक ठाउँमा ढुंगा, ग्याबियन तथा अन्य संरचना पनि बनाइएको कार्यक्रम संयोजक सुवेदी बताउँछन् ।

यसको उद्देश्य पानीलाई पूरै रोक्नु नभई पानीको गति कम गर्नु, माटो बग्न नदिनु र वनस्पति हुर्कने वातावरण तयार गर्नु रहेको डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु आचार्य बताउँछन् । उनी वनस्पतिको जरा माटोमा फैलिँदै गएपछि माटो समात्न मद्दत गर्ने समयसँगै पहिरो गएको क्षेत्र हरियालीमा परिणत हुँदै जाने बताउँछन् ।
त्यसैले जैविक बाँधलाई केवल एउटा संरचना नभई प्रकृति र इन्जिनियरिङको संयोजनका रूपमा बुझ्न सकिने उनको भनाइ छ ।
चण्डीस्थानमा करिब ३८० मिटर लामो र १८० मिटर चौडाई पहिरो गएको डाँडामा विभिन्न चरणमा काम भएका छन् । चण्डिस्थान सामुदायीक वनका अध्यक्ष गुरुङ भन्छन्, ‘पहिरो नियन्त्रणका लागि स्थानीय स्रोतसाधनमा उपलब्ध बाँस र ढुंगाको प्रयोग गरिएको छ । बाँसको क्रिब वाल निर्माण गरी ढुंगाको पिचिङ तथा पर्खाल बनाइएको छ ।खोलाको फेदीमा पानीको बहावले जमिन काटेर लैजान नदिने उद्देश्यले ग्याबियन वालसमेत राखिएको छ ।’
यी संरचनाले पानीको बहावलाई नियन्त्रण गर्न र माटो बग्ने गति घटाउन सहयोग गरेको छ । यहाँ अहिले घाँस तथा अन्य वनस्पति हुर्किन थालेका छन् । पहिले माटो र ढुंगा बगेर तल आउने ठाउँमा अहिले माटो थामिएको छ ।
पहिरो नियन्त्रणको प्रभाव स्थानीयले आफ्नै आँखाले देख्न पाएका छन् । स्थानीय माया तामाङ भन्छिन्, ‘पहिले वर्षायाममा पहिरोबाट माटो बगेर तल आउँथ्यो । पहिरो रोकिएपछि खोल्सा–खोल्सी बनेका थिए । अहिले त्यही ठाउँमा माटो थामिए र बोटबिरुवा उम्रिएको छ । अव त पहिरो जाँदैन होला ।’
चण्डीस्थानको अनुभवले प्रकृतिलाई बुझेर, स्थानीय ज्ञानलाई सम्मान गरेर र समुदायसँगै मिलेर विपद्को समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
प्रतिक्रिया 4