१४ असोज, काठमाडौं । नेपाली कांग्रेसको जिल्ला निर्वाचन समितिले काभ्रे क्षेत्र नम्बर २ को अधिवेशनबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले मंगलबार सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधिहरूको नाम बुधबार सार्वजनिक गरेको हो ।
सहमतिका आधारमा पेस भएका सर्वसम्मत निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशित गरिएको प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तम तिमिल्सिनाले बताएका छन् ।
सहमतिका लागि गठन भएको पाँच सदस्यीय समितिले प्रतिनिधिहरूको नाम सर्वसम्मत टुंगो लगाएको निर्वाचन समितिले सूचनामा उल्लेख गरेको छ ।
उक्त समितिमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापति महेश खरेल, जिल्ला कार्यसमिति सचिव माधव ढकाल, क्षेत्रीय सचिव नारायण सापकोटा, नेताहरू अच्युत पौडेल र सुन्दरमणि आचार्य थिए ।
सभापति खरेलले अधिवेशनको हलबाट सर्वसम्मतिको म्यान्डेट लिएर महाधिवेशन प्रतिनिधिहरू चयन गरिएको बताएका छन् । ‘हलबाट सर्वसम्मतिको म्यान्डेट दिइएको थियो,’ उनले भने, ‘त्यसकै आधारमा प्रतिनिधिहरू चयन गरिएको हो ।’
बुधबार बिहानमात्रै काभ्रे–२ का २३ जना महाधिवेशन प्रतिनिधि उमेदवारहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै केन्द्रीय निर्वाचन समितिसमक्ष निवेदन दिएका थिए ।



प्रतिक्रिया 4