+
+
Shares

दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १५:१७

१५ असोज, काठमाडौं । नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छिन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन् ।

सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताइन् ।

साथै, उनले मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको स्मरण गराइन् ।

नेपालले विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पुर्‍याएको क्षति दु:खद् रहेको उल्लेख उनले गरिन् ।

‘दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन । इतिहास नबुझ्नेहरूको शासन क्षणिक हुन्छ, तर संगठन र विचारले मात्र देशलाई दीर्घकालीन दिशा दिन सक्छ,’ उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै गरिएको भनिएको आन्दोलन किन एक्कासि हिंस्रक बन्यो ? संसद भवन घेराउ गर्ने, सार्वजनिक सम्पती तोडफोड गर्ने र जनप्रतिनिधिहरूमाथि भौतिक आक्रमण गर्ने काम कसको स्वार्थका लागि थियो ?’

उनले लोकतन्त्रको रक्षाका लागि संघर्ष गरेका नेताहरूमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने संकेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?