१५ असोज, सुनसरी । विजयपुर क्षेत्रको सिमाङ्कन र संरक्षण गर्न यस अभियानका अगुवाहरूले माग गरेका छन् ।
विजयपुर क्षेत्रको इतिहास र ऐतिहासिकताका बारेमा पछिल्लो समयमा विवाद र भ्रम उत्पन्न भएपछि यस क्षेत्रका विज्ञहरू सम्मिलित धरानमा दुईदिने विजयपुर सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनले धरानमा १० बुँदे ‘विजयपुर घोषणा २०८३’ जारी गर्दै ऐतिहासिक दस्तावेज, प्रमाण र तथ्यको आधारमा त्यहा रहेका ऐतिहासिक दरबारको भग्नावशेष परिसर वा पुरातात्विक स्थल याक्थुङ लिम्बु इतिहास, लिम्बुवानको राजनीतिक इतिहास, सांस्कृतिक याक्थुङ मुन्धुमी स्मृति तथा ऐतिहासिक सम्पदासँग सम्बन्धित क्षेत्र भएको सम्मेलनले निष्कर्ष निकालेको छ ।
विजयपुर घोषणा पत्रमा के छ ?
हाल धरान उपमहानगरपालिका–१४ मा पर्ने विजयपुर साङ्लाइङ–पुङ्लाइङ याक्थुङ लिम्बूका सातौं पुस्ताका राजा विजयनारायण राय (हिन्दुमत धारण गरेपछि राय भएका) ले १६ औं सताव्दीमा दरबार बनाएर मोरङ विजयपुरको राजधानीको रुपमा स्थापना गरेका थिए ।
उत्तराधिकारी छोरा नभएपछि उनको मृत्युपछि पश्चिम पाल्पा र मकवानपुर हुदै राज्य विस्तार गर्दै युद्धमा होमिएका सेनबंशी राजा लोहाङ सेनले पुर्वका याक्थुङ लिम्बूकै आपुङ्गी रजौटाहरुलाई नै प्रयोग गरेर विजयपुरको गद्धी हत्याएका थिए ।
तर लोहाङ सेन विजयपुर दरवारमा बसेर शासन सत्ता नचलाई पुर्व जित्न सहयोग गर्ने याक्थुङ लिम्बूकै रजौटा मध्ये बाजहाङका छोरा पानोहाङ (हिन्दमत धारण गरेपछि विचित्र चन्द्र राय) लाई शासन अधिकार दिएर मकवानपुर तिरै फर्केको इतिहासलाई आधार बनाइएको विजयपुर सम्मेलनद्धारा जारी विजयपुर घोषण पत्रमा उल्लेख छ ।
घोषणा पत्रमा भनिएको छ, ‘विजयपुर पूर्वी नेपालको इतिहासमा राजनीतिक, प्रशासनिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण ऐतिहासिक केन्द्र हो । यसको इतिहास फेदाप, मोरङ, याक्थुङ लिम्बुका राजनीतिक परम्परा, सेनकालीन सत्ता, गोर्खाली राज्य विस्तार, किपट भूमि व्यवस्था तथा आधुनिक नेपालको राज्य निर्माण प्रक्रियासँग अन्तरसम्बन्धित रहेको छ ।’

विजयपुरको इतिहाससम्बन्धी पूर्ववर्ती लिखतहरुमा शासकको नाम, वंश, राज्यको स्वरूप, राजधानीको हैसियत, मोरङ नामको उत्पत्ति, लिम्बुवानको भूगोल तथा भूमि अधिकारका विषयमा विभिन्न मत र व्याख्या पाइएका छन् । विजयपुरका अन्तिम शासकका सम्बन्धमा रघुनाथ सेन, कर्ण सेन र बुद्धिकर्ण रायसम्बन्धी फरक–फरक विवरणहरू पाइएका छन् ।
त्यसैले इतिहासलाई पूर्वनिर्धारित धारणाबाट नभई प्राथमिक अभिलेख, लालमोहर, स्याहामोहर, वंशावली, शिलालेख, पुरातात्विक प्रमाण, समकालीन विदेशी तथा स्वदेशी विवरण, याक्थुङ लिम्बूले आदिमकालदेखि आधुनिककालसम्म मानिल्याएको माङगेना मुन्धुम, मौखिक इतिहास र आधुनिक अनुसन्धानका आधारमा पुनः परीक्षण गर्नुपर्नेमा विजयपुर सम्मेलनले जोड दिएको छ ।
उपलब्ध ऐतिहासिक परम्परा, इतिहास, प्राथमिक स्रोत तथा वंशावलीगत सामग्रीहरूको पुनः परीक्षणबाट विजयपुर सहर र राजधानीको स्थापना र प्रारम्भिक राजनीतिक विकाससम्बन्धी विभिन्न ऐतिहासिक तथ्यले विजयपुरको संस्थापक राजा विजयनारायण राय नै भएको र उनैको नामबाट विजयपुर भएको सम्मेलनको निष्कर्ष रहेको छ ।
विजयपुर सम्मेलनमा ऐतिहासिक महारानी थाङसामाको विषयमा अलग्गै शोधपत्र पनि प्रस्तुत गरिएको थियो ।
ऐतिहासिक दस्तावेज र हस्तलिखित वंशावलीहरुमा पुर्वका विभिन्न राजा रजौटा, रायहरुका नामहरु पुरुषका भेटिएपनि विजयपुरका राजा विजयनारायण रायका महारानी थाङ्सामा र विजनारायणको मृत्युपछि करिव चार बर्षसम्म विजयपुर गद्धीमा बसेर शासन गरेको तथ्यहरुलाई विर्सन नहुने सम्मेलनले निष्कर्ष निकालेको छ ।
यसैगरी लिम्बुवानी इतिहासमा मुरेहाङ र सिङ् रायको पहिचान र वंशपरम्परा ऐतिहासिक लेखन तथा विभिन्न स्रोतहरूमा मुरेहाङ र सिङ् राय भनी फरक लेखिएको पाइएकोमा उनको पिताको नामथर समेत खेबाङ, खेवाङ, खेवाहाङ, खेवाहाङ्, खेवा लेखिएको पाइएको छ । तर इतिहासकारहरूले प्रस्तुत गरेको लिखित तथ्यको आधारमा मुरेहाङ खेवाहाङ र सिङ् राय एउटै व्यक्ति भएको सम्मेलनको निष्कर्ष रहेको छ ।
मुरेहाङकै सन्तती तथा उत्तराधिकारीका रुपमा उपलब्ध वंशावली, ऐतिहासिक विवरण र अन्य प्रमाणहरूको तुलनात्मक मूल्याङ्कनबाट बुद्धिकर्ण याक्थुङ लिम्बु भएको निष्कर्ष पनि सम्मेलनले निकालेको घोषणापत्रमा उल्लेख छ ।
घोषणा पत्रको अर्को बुँदामा भनिएको छ, ‘मोरङ शव्द नामको व्युत्पती र उत्पत्तिका सम्बन्धमा ऐतिहासिक लिखतहरुमा मुङवाराङवा, मोरोहाङ, मावराङ, मुरेहाङ लगायतका विभिन्न शब्दहरू प्रयोग गरेको पाइन्छन् । विभिन्न लिखित स्रोत, विश्वविद्यालयीय शोधकार्य, स्थानीय ऐतिहासिक परम्परा तथा भाषिक–ऐतिहासिक व्याख्याहरूको तुलनात्मक अध्ययनका आधारमा मोरङ नामको सम्बन्ध पहाड–मधेस क्षेत्रसँग सम्बन्धित राजा मुरेहाङ, चौबिसेका मोरङ्गे राजा र महामङ्गेहरूकै नामबाट मोरङको व्युत्पति भएको निष्कर्षलाई यस सम्मेलनले स्वीकार गर्दछ ।’
सम्मेलनमा अमित थेवे, डा. कमल तिगेला लिम्बु, ताजुव लिम्बु, डा. रमेश इजम लिम्बु र हितराम तिलिङ्ग, भगीराज इङ्नाम, नन्द कन्दङ्वा, भीमा खजुम, दिलेन्द्र कुरुम्बाङलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि भगीराज इङ्नाम, प्राडा मोहन तुम्बाहाङ, डा. कमल तिगेला लिम्बु, बम देवान भवानी बराल, लिलाराज तुम्सा, नन्द कन्दङ्वा, दिपक मेन्याङ्बो, डा रामनारायण कन्दङ्वा, वसन्ती थेव, अम्बिका सम्बाहाङ्फे, प्राध्यपक हर्क इजम, कुमार लिङ्देन मिराकलगायतले टिप्पणी गरेका थिए ।
प्रतिक्रिया 4