१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन् ।
नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी लामो समयदेखि कांग्रेसको विद्यार्थी तथा युवा संगठनमा सक्रिय छन् ।
पार्टी संगठनसँगै समाजसेवा, उद्यम र स्थानीय विकास निर्माणका गतिविधिमा पनि सक्रिय रहेका चौधरीले आफूले हासिल गरेको संगठनात्मक अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने बताएका छन् ।
चौधरीले कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको सहभागिता अहिलेको आवश्यकता भएको बताए ,
उनले कांग्रेसलाई समयअनुकूल, आधुनिक र गतिशील बनाउन नयाँ पुस्ताको प्रवेश अपरिहार्य रहेको बताए ।
उनका अनुसार एउटै पुस्ता लामो समयसम्म नेतृत्वमा रहिरहनेभन्दा क्षमता र योगदानका आधारमा नेतृत्व हस्तान्तरण हुँदै जाने संस्कारले पार्टीलाई थप ऊर्जाशील बनाउन सक्छ ।
थारू समुदायको प्रतिनिधित्वलाई पनि आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण पक्षका उनले रूपमा अघि सारेका छन् ।
नेपाल विद्यार्थी संघ हुँदै नेपाल तरुण दलमा सक्रिय रहेका उनले शंकरदेव क्याम्पसमा नेविसंघ इकाइ सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
चौधरी राजनीतिसँगै उद्यम क्षेत्रमा पनि सक्रिय छन् । उनले लिंकन कलेजबाट एमबीएस गरेका छन् । उनी रमदुलारी कन्स्ट्रक्सनका निर्देशकसमेत हुन् ।
प्रतिक्रिया 4