+
+
Shares

‘विश्व लगानीकर्ता सप्ताह २०२६’ मा तीन सहरमा प्रभातफेरी

देशका तीन प्रमुख सहरमा लगानीकर्ता सचेतना अभिवृद्धि गर्न प्रभातफेरी कार्यक्रम गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १९:३०

१९ असोज, काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ का अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा प्रभातफेरी कार्यक्रम भएको छ ।

देशका तीन प्रमुख सहरमा लगानीकर्ता सचेतना अभिवृद्धि गर्न प्रभातफेरी कार्यक्रम गरिएको हो ।

विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन १९ असोजमा पोखरा, विराटनगर र सुर्खेतमा एकसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रम मार्फत पूँजीबजार, लगानी तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।

पोखरामा आयोजित कार्यक्रममा धितोपत्र बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रभातफेरी उद्घाटन गरेका थिए । कार्यक्रममा करिब ६ सय जनाको सहभागिता थियो ।

त्यस्तै विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले प्रभातफेरी उद्घाटन गरे । उक्त कार्यक्रममा करिब ३ सय ५० जनाको सहभागिता थियो ।

सुर्खेतमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको सहभागितामा कार्यक्रम भएको थियो । कार्यक्रममा करिब ४ सय जना उपस्थित  थिए ।

प्रभातफेरीमा धितोपत्र बोर्ड कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता लगायत पूँजीबजारसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता थियो ।

प्रभातफेरीले पूँजीबजारप्रति सर्वसाधारणको बुझाइ अभिवृद्धि गर्नुका साथै लगानी गर्दा आवश्यक जानकारी हासिल गर्ने, जोखिम पहिचान गर्ने तथा सचेत र जिम्मेवार लगानी गर्ने संस्कृति विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विश्व लगानीकर्ता सप्ताह १९ देखि २५ असोजसम्म मनाइँदै छ । सप्ताह क्रममा पूँजीबजार सम्बन्धी साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना बढाउने उद्देश्यले देशका विभिन्न ठाउँमा पूँजीबजार सम्बन्धी प्रशिक्षण कार्यक्रम, वादविवाद प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता लगायत कार्यक्रम सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?