+
+
Shares

सल्यानमा लागुऔषध नियन्त्रणका लागि ६ बुँदे निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ७:१७

२१ असोज, काठमाडौं । पछिल्लो समय सल्यान जिल्लामा लागुऔषधको प्रयोग तथा कारोबारको अवस्था बढ्दै गएपछि यसको नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सल्यानले सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय बैठक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीको अध्यक्षतामा बसेको बैठकले लागुऔषध नियन्त्रणका लागि विभिन्न ६ बुँदे निर्णय गरेको हो ।

बैठकले नेपाल सरकारबाट प्रतिबन्धित साइकोट्रोपिक तथा नार्कोटिक औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री–वितरण गर्न नदिने निर्णय गरेको छ । सरकारी तथा निजी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा मात्रै यस्ता औषधि बिक्री गर्नुपर्ने र बिक्रीको विवरण व्यवस्थित रूपमा राख्नुपर्ने निर्णय गरिएको छ ।

त्यस्तै, जिल्लामा लागुऔषध प्रयोग तथा कारोबार हुनसक्ने सम्भावित क्षेत्र र मुख्य नाकामा प्रहरीको नियमित निगरानी तथा गस्ती बढाउने जिल्लाभित्र सञ्चालनमा रहेका औषधि व्यवसायको कानुनी वैधता तथा दर्तासम्बन्धी विवरण स्थानीय तह र स्वास्थ्य शाखामार्फत संकलन गर्ने विद्यालयमा युवा लक्षित लागुऔषध नियन्त्रण तथा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

पहिलो चरणमा जनकल्याण माध्यमिक विद्यालय, धारमारेमा कार्यक्रम सञ्चालन गरिन प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले बताउनुभयो । लागुऔषध प्रयोग तथा कारोबार हुनसक्ने सम्भावित गोप्य तथा व्यापारिक क्षेत्रमा निगरानी बढाउने र सुरक्षा व्यवस्थाका लागि स्थानीय तहलाई सडक बत्ती लगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय भएको पनि उनको भनाइ छ ।

त्यस्तै जिल्लास्थित सम्पूर्ण फार्मेसीको अनुगमनका लागि औषधि व्यवस्था विभाग, नेपालगञ्ज शाखालाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, मेडिकल व्यवसायीलगायत सरोकारवालाको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?