तपाईं कन्टेन्ट क्रिएटर हुनुहुन्छ । ज्यानको नापतौल ठिकठाक मिलेको छ। अनुहार बान्की परेको छ । शरीर सुडौल छ । नाच्न जान्नुहुन्छ, हाँस्न जान्नुहुन्छ, खुब रमाइलो जीवन बाँच्न जान्नुहुन्छ ।
त्यसमाथि सोसल मिडियामा तपाईंको फलोअर्स पनि काफी छ ।
त्यसो हो भने मोबाइल कल धेरै व्यस्त नराख्नुहोला । कुनै फिल्ममेकरको फोन आउन सक्छ। अनि झ्याप्पै हिरो–हिरोइनका लागि अफर गर्न सक्छ ।
के तपाईंलाई यस्तो लाग्दैन ?
फिल्मको कथाले मागेर हो वा तपाईंको फलोअर्सले लोभ्याएर, अहिले फिल्ममेकरहरू कन्टेन्ट क्रिएटर खोज्न थालेका छन् । हुन त कन्टेन्ट क्रिएटर हिरो वा हिरोइन बन्न नसक्ने भन्ने होइन । यसका लागि लोकसेवा पास गर्नुपर्ने पनि होइन । अभिनय क्षमता र रुचि भए पुग्छ ।
तर पछिल्लो ट्रेन्ड चाहिँ के देखिएको छ भने कन्टेन्ट क्रिएटरलाई फिल्ममा खेलाउने । यसले गर्दा हुँदा–हुँदाका कलाकारहरू कोही जिम गरेर समय कटाउँदैछन्, कोही श्रीमान्सँग प्र्याङ्क गरेर दिन बिताउँदैछन् ।
यता प्रिन्सी खतिवडा, कविता नेपालीलाई भने फिल्मको अफरले भ्याइनभ्याई छ । हुँदा–हुँदा इभा गिरी पनि हिरोइन भइसकिन् । सधैँजसो बोल्ड देखिने उनी फिल्ममा घुम्टो ओढेर प्रकट भएकी छिन् ।
उता कुल ब्वाईको छाँट त देखिसक्नुभयो होला नि । कसो अनमोल केसीलाई नकआउट गरिदिएनन् । हलहरूमा हात हल्लाउँदै पुग्दा ठूलै भीडले घेरा हालिदियो । उनीमात्र कहाँ हो र ? आफ्नै सुरमा श्रीमती र साथीभाइसँग ठट्यौली भिडियो बनाउँदै बसेका दार्जिलिङका पदम तामाङलाई पनि नेपाली फिल्मले च्याप्प समाएर नेपाल ल्याइदियो । पछिल्लो अवधि राजेश हमाल बालीतिर बरालिँदैछन्, पदम तामाङ सुटिङ स्पटमा ठाँटले हाजिर भइरहेका छन् ।
यी संयोग होइनन्, उदाहरण हुन् । यसले के देखाउँछ भने अब पालो कन्टेन्ट क्रिएटरको आयो । तपाईं पनि कन्टेन्ट क्रिएसन गर्नुहुन्छ, धेरै फलोअर्स छन् भने कसको फोन आउँछ भनी बेलाबेला हेरिरहनुहोला है ।
प्रतिक्रिया 4