२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीको पुलमुनि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली हानेर मंगलबार राति लुटेरा आयन माझीलाई पक्राउ गर्यो ।
पक्राउ गर्न खोज्दा प्रहरीलाई नै खुकुरी प्रहारको प्रयास भएपछि २ राउन्ड हवाई फायर र १ राउन्ड गोली खुट्टमा हानेर माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए ।
सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझी यस्ता व्यक्ति हुन् जसको उमेरभन्दा बढी मुद्दाका चाङ छन् । उनै माझीलाई लामो समयको निगरानीपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार माझी पेस्तोल किनेर लुटपाटको आतंक मच्चाउने तयारीमा थिए । जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार तथा पेस्तोल खरिद गर्नेबारे उनले डिल गरेकोसम्म सूचना पाइएको प्रहरी स्रोतले बताएको छ ।
‘जेनजी आन्दोलनमा लुटिएको पेस्तोल किन्नबारे गरिएको कुराकानी तथा प्रमाणहरूसमेत फेला परेका छन् । घरेलु हतियारको आडमा लुट्दै आएका माझी पछिल्लो समय पेस्तोल किनेर लुटपाट गर्ने तयारीमा रहेको देखिन्छ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

पेस्तोल किन्न नपाउँदै उनी प्रहरीको गोली लागेर घाइते भए । अस्पतालमा उपचाररत उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
माझीलाई गोली हानेर पक्राउ गरेपछि थप अनुसन्धान गर्दा उनको समूहमा रहेर काम गर्ने अरू दुई जना पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–७ का २६ वर्षीय मनोजकुमार मोक्तान र बकैया–५ का ३४ वर्षीय राकेश थिङ छन् । थिङ मोटरसाइलको पछाडि बसेर लुट्दै हिँड्ने व्यक्ति हुन् भने मोक्तान मोटरसाइकल चालक हुन् ।
उनीहरूलाई प्रहरी वृत्त ठिमीले गम्भीर उत्तेजना वा आवेगमा कुटपिटको कसुरमा पक्राउ गरेको हो । अब उनीहरूमाथि डाँका चोरीमा पनि अनुसन्धान हुनेछ । माझी यी सबै लुटपाटका योजनाकार तथा नाइके हुन् ।
उमेर २४ वर्ष, मुद्दा २७
सिन्धुली घर भई अहिले कलंकी ढुंगेअड्डा बस्दै आएका माझी जम्माजम्मी २४ वर्षका मात्रै भए । तर उनको मुद्दाको चाङ भने उमेरभन्दा बढी छ ।
उनीविरुद्ध अहिलेसम्म २७ वटा मुद्दा चलेको एसएसपी घिमिरेले बताए । उनको आपराधिक यात्रा भने २०७७ सालबाट सुरु हुन्छ । २०७७ सालमा उनी चोरी डाँका कसुरमा ३ महिना जेल बसेर निस्केका थिए ।
त्यसपछि अदालतले अर्को मुद्दामा पुन: ६ महिना कैद तोकेको थियो । यो मुद्दामा भने उनी फरार थिए । ६ महिनासहित त्यसपछि तोकिएको अर्को ३ महिना कैद भुक्तान गर्दै उनी २०८२ वैशाखमा कारागारबाट निस्केका थिए ।
माझीविरुद्ध २६ भदौ २०७९ मा जिल्ला प्रहरी परिसर भक्तपुरबाट डाँका चोरी मुद्दा चलेको प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिन्छ ।
त्यस्तै, भक्तपुर परिसरमै ११ असोज २०७९ मा डाँका चोरीका २ फरक मुद्दा चलेको पाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट २३ असोज २०७९ मा डाँका चोरीको मुद्दा चलेको भेटिएको छ ।
१५ माघ २०८२ मा परिसर कामठाडौंबाट डाँका चोरीको मुद्दा चलेको देखिन्छ । २० माघ २०८२ मा माझीविरुद्ध परिसर काठमाडौंबाटै डाँका चोरीका ९ वटा मुद्दा चलेको एसएसपी घिमिरेले बताए ।
२१ माघ २०८२ मा काठमाडौंबाट २ वटा डाँका चोरीमा मुद्दा चलेको छ । परिसर काठमाडौंबाटै ६ वटा डाँका चोरीको मुद्दा चलेको भेटिएको छ ।
माझीविरुद्ध ४ फागुन २०८२ मा काठमाडौंबाट डाँका चोरी, ८ फागुन २०८२ मा परिसर काठमाडौंबाटै २ वटा डाँका चोरी, ११ फागुन २०८२ मा वृत्त ठिमी भक्तपुरबाट २ वटा डाँका चोरी गरी २७ वटा डाँका चोरीको मुद्दा चलेको छ ।

जेनजी आन्दोलनमा एटीएम बुथ लुटपाट
आयन माझीले जेनजी आन्दोलनको बेलासमेत एटीएम बुथहरू लुटपाट गरेको प्रहरीको दाबी छ । काठमाडौं उपत्यकामा करिब ९ महिनाअघि ३ वटा मोटरसाइकलमा ३ जनाको दरले सवार हुँदै सार्वजनिक सडकमा हिँडिरहेका व्यक्तिको गरगहना थुतेर हिँड्ने, लुटपाट गर्ने समूह देखापरेको थियो । उनी त्यही समूहका नाइके रहेको प्रहरीले बताएको छ ।
त्यतिबेला आयन समूहका १० जनालाई पक्राउ गरी प्रहरीले डाँका चोरीमा मुद्दा चलाएको थियो । पछि उनी धरौटीमा छुटेका थिए । धरौटीमा छुटे लगत्तै फेरि पुरानै पेसामा लागेको पाइएको छ ।
बिहानीपख मर्निङवाकमा निस्केका व्यक्तिहरूलाई उनले बाटो सोध्ने निहुँ बनाएर लुटपाट गर्ने गर्थे । मोटरसाइकलमा चढेर लुट्ने र लुटिसकेपछि मोटरसाइकलमै फरार हुने गरेको देखिएको छ ।
अर्कोतर्फ, इन्ड्राइभ तथा पठाओको बहाना बनाई राति तथा बिहानको समयमा उनीहरूले लुटपाट गर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । यो समूहका ४ जना अझै फरार रहेको प्रहरीले बताएको छ ।
सिक्री थुत्ने, मोटरसाइकल चोरी गर्ने र त्यही चोरीको मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने, चोरीको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर चलाउने गरेको पनि पाइएको छ । यो समूहले १५ वटा मोटरसाइकल चोरी गरिरसकेको पाइएको छ ।

एक हप्ताअघि पनि लुटपाट
यो समूहले एक हप्ताअघि मात्र पनि लुटपाट गरेको थियो । १४ असोज राति करिब साढे १ बजेतिर महेन्द्रकुमार बल तरकारी किन्न जाँदै गर्दा बौद्ध गेट नं. २ मा लुटिएका थिए । ४/५ जनाको अपरिचित समूहले उनीसँग भएको नगद २ लाख र कागजातहरू लुटेको थियो ।
त्यस्तै, १३ असोज राति साढे ११ बजेतिर काठमाडौंको डल्लुमा लुटपाट भएको थियो । त्यतिबेला रमेश खड्गीले चलाएको बागमती प्रदेश ०१–०२९ च ९०६० नम्बरको बीवाईडी कारमा बसिरहेको बेला गलाको साढे ३ तोलाको सिक्री लुटेर यो समूह भागेको प्रहरीले बताएको छ ।
सिक्री थुतेर यो समूह मोटरसाइकलमा भागेको थियो । लुटपाट गर्नकै लागि बनाइएका फरकफरक ५ थान नम्बर प्लेटसमेत प्रहरीले बरामद गरेको छ । २ थान मोटरसाइकल, १ थान खुकुरी, लुटपाट गर्दा लगाइएका कपडाहरू पनि बरामद भएका छन् ।
प्रतिक्रिया 4