News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थालाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन् ।
- उनले प्रहरी प्रमुख वा अधिकारीबाट कानुनविपरीत काम भए निष्पक्ष छानबिन र दोष प्रमाणित भए तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।
- बर्तौलाले सत्तापक्षका एक सांसदले राज्यका सुरक्षा संगठनका प्रमुखमाथि सार्वजनिक लाञ्छना, चरित्रहत्या र धम्की दिएको आरोप लगाएका छन् ।
२३ असोज, काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको टिप्पणी गरेका छन् ।
प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानूनविपरीत कुनै काम भएको छ भने निष्पक्ष छानबिन गर्न र दोष प्रमाणित भए तत्काल कानुनबमोजिम कारबाही गर्न आग्रह गर्दै उनले यस्तो बताएका हुन् ।
उनी भन्छन्, ‘तर सत्तापक्षका एक जना सांसदले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि एक पटक होइन, दुई पटक होइन, निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने, तर्साउने, धम्क्याउने र अशिष्ट भाषा प्रयोग गर्ने जुन गतिविधि गरिरहनुभएको छ, यो सत्तारुढ सांसदको दादागिरी र सत्ताको रवाफको पराकाष्ठा हो ।’
यस्तो व्यवहार सांसद पदको मर्यादा र गरिमाविपरीत रहेको उनको भनाइ छ ।
सांसद पद जनताको प्रतिनिधित्व गर्ने गरिमामय संवैधानिक जिम्मेवारी भएको उल्लेख गर्दै उनी भन्छन्, ‘सांसद पद व्यक्तिगत आक्रोश पोख्ने, राज्यका संस्थालाई तर्साउने वा धम्क्याउने, राष्ट्रसेवक कर्मचारीहरूको मनोबल गिराउने अथवा दोषीको फैसला सुनाउँदै हिँड्ने न्यायाधीशको लाइसेन्स होइन ।’
लोकतन्त्रमा प्रश्न उठाउन पाइने, राज्यका संस्था र जिम्मेवार अधिकारीको आलोचना पनि गर्न पाइने उल्लेख गर्दै उनी भन्छन्, ‘तर आलोचनाको नाममा राज्यका संस्थालाई कमजोर बनाउने गरी निरन्तर अराजकता, धम्की र चरित्रहत्या गर्ने छुट कसैलाई पनि हुँदैन । त्यसैले यस विषयमा सरकार र सम्बन्धित राजनीतिक दलको गम्भीर ध्यान जाओस् ।’
प्रतिक्रिया 4