News Summary
Generated by OK AI. Editorially reviewed.- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले २०८२/८३ को मुनाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
- काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाले व्यवसाय विस्तार योजना पारित गर्दै अल्लो, हेम्प र केराबाट धागो तथा कपडा उत्पादन गर्ने प्रावधान संशोधन गरेको छ ।
- साधारणसभाले सञ्चालक समिति ६ सदस्यीय बनाउँदै पवनकुमार गोल्यान, शशिकान्त अग्रवाल, अक्षय गोल्यान, किरणदेवी अग्रवाल र बसन्त नाहटालाई निर्वाचित गरेको छ ।
२३ असोज, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्दै उच्च अंकको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिने छ । प्रस्तावित लाभांशमा प्रचलित कानुन बमोजिम लाग्ने करसमेत समावेश गरिएको छ ।
साधारणसभाले २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण भएको वित्तीय प्रतिवेदन पारित गरेको छ । गोल्यान ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स गत आव नेप्सेमा सूचीकरण भएको नेपालको सबैभन्दा ठूलो निर्यातमूलक र रोजगारदाता कम्पनी हो ।
साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत व्यवसाय विस्तार सम्बन्धी महत्त्वपूर्ण योजना प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गरी अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्ने र विभिन्न प्रकारका फाइबर उत्पादन गर्ने उद्देश्य योजनामा सामेल छन् ।
अल्लो, हेम्प, केरा लगायत प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्नुका साथै विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाइ गरिने संशोधित प्रावधानमा छ ।
कम्पनीले औद्योगिक विस्तार, प्राकृतिक फाइबरमा आधारित उत्पादन तथा कपडा र गार्मेन्ट उद्योगमा प्रवेश गर्ने रणनीति अघि बढाउने भएको छ ।
कम्पनीको प्रस्तावित व्यवसाय विस्तारले परम्परागत तथा स्थानीय स्रोतमा आधारित फाइबरलाई आधुनिक प्रविधिसँग जोड्दै मूल्य अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
विशेषगरी फाइबर, धागो, कपडा तथा तयारी पोसाक उत्पादनमा प्रवेश गर्ने योजनालाई कम्पनीको व्यवसाय विविधीकरणको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
साधारणसभाले कम्पनीको सञ्चालक समिति संरचनामा पनि परिवर्तन गरेको छ । संशोधित व्यवस्था अनुसार कम्पनीमा संस्थापक सेयरधनी समूहबाट चार जना, सर्वसाधारण सेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक गरी कुल ६ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था गरिएको छ ।
यसैअनुसार सम्पन्न निर्वाचन प्रक्रियाबाट संस्थापक सेयरधनी समूहबाट पवनकुमार गोल्यान, शशिकान्त अग्रवाल, अक्षय गोल्यान र किरणदेवी अग्रवाल सर्वसम्मत सञ्चालक निर्वाचित भएका छन् ।
त्यस्तै सर्वसाधारण सेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाले कम्पनीको स्वतन्त्र सञ्चालकमा वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीको नियुक्ति समेत अनुमोदन गरेको छ ।
प्रतिक्रिया 4