News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज गरेको सार्वजनिक भएको छ ।
- यो प्रकरणले नेपालमा ट्रेडमार्क संरक्षण, ब्रान्डको मूल्य र लगानी सुरक्षाबीचको सम्बन्धलाई उठाएको छ ।
- लेखले व्यवसायीलाई ब्रान्ड निर्माणको सुरुआती चरणमै विद्यमान ट्रेडमार्क खोजी र कानुनी जोखिम परीक्षण गर्न सुझाव दिएको छ ।
एउटा उद्योग स्थापना गर्न भवन चाहिन्छ, मेसिन चाहिन्छ, जनशक्ति चाहिन्छ र पूँजी चाहिन्छ । तर बजारमा उत्पादन पहिचान बनाउन यी भौतिक पूर्वाधारले मात्र पुग्दैन । एउटा नाम, लोगो र ब्रान्डको प्रतिष्ठा पनि व्यवसायको महत्त्वपूर्ण सम्पत्ति बन्छ ।
त्यही सम्पत्ति कानुनी रूपमा कति सुरक्षित छ भन्ने प्रश्न लगानीकर्ताका लागि कम महत्त्वपूर्ण हुँदैन । प्रख्यात विदेशी ट्रेडमार्कको नक्कल गरिएको ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर भएको घटना यो साता चर्चामा आएको छ । उपभोक्ता झुक्किन सक्ने गरी ‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग भएको सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क खारेज गरिदिएको सार्वजनिक भएको छ ।
यो निर्णयलाई केवल दुई चुइङ्गम ब्रान्डबीचको विवादका रूपमा हेर्नु पर्याप्त हुँदैन । यसले नेपालमा ट्रेडमार्क संरक्षण, ब्रान्डको मूल्य र लगानी सुरक्षाबीचको सम्बन्धलाई समेत अगाडि ल्याएको छ ।
विदेशी लगानीको चर्चा गर्दा नेपालमा करको दर, नाफा फिर्ता लैजाने सुविधा, जग्गा, विद्युत्, अनुमति प्रक्रिया र प्रशासनिक झन्झटबारे धेरै बहस हुन्छ । यी विषय लगानीकर्ताका लागि महत्त्वपूर्ण छन् । तर कुनै कम्पनीले नेपालमा लगानी गर्दा उसले पैसा मात्र ल्याउँदैन । उसले प्रविधि ल्याउँछ, उत्पादन प्रणाली ल्याउँछ, व्यवस्थापन क्षमता ल्याउँछ र वर्षौँ लगाएर निर्माण गरेको ब्रान्ड पनि ल्याउँछ ।
कुनै स्थापित कम्पनीका लागि ब्रान्डको मूल्य केवल नाममा हुँदैन । त्यससँग बजारको पहिचान, ग्राहकको विश्वास, वितरण सञ्जाल र व्यावसायिक प्रतिष्ठा जोडिएको हुन्छ । त्यसैले यस्तो अमूर्त सम्पत्तिको कानुनी सुरक्षा लगानी वातावरणकै एउटा हिस्सा हो ।
कुनै लगानीकर्ताले नेपालमा उद्योग स्थापना गरेपछि आफ्नो ट्रेडमार्क, डिजाइन वा अन्य बौद्धिक सम्पत्तिको अधिकार कति स्पष्ट र पूर्वानुमानयोग्य रूपमा सुरक्षित हुन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठाउँछ ।
‘पर्फेक्ट सेन्टर फिल्ज’सम्बन्धी घटनाले ट्रेडमार्क दर्ताको अर्को महत्त्वपूर्ण पक्ष देखाएको छ । उद्योग विभागबाट ट्रेडमार्क दर्ता हुनु अधिकार प्राप्त गर्ने महत्त्वपूर्ण आधार हो । तर त्यस्तो दर्ता अर्को स्थापित व्यापारिक चिह्नसँग उपभोक्तामा भ्रम सिर्जना गर्ने अवस्थासँग सम्बन्धित विवादबाट पूर्ण रूपमा अलग हुँदैन ।
यसले ट्रेडमार्कलाई केवल कागजमा लेखिएको नामका रूपमा बुझ्न नहुने देखाउँछ । ट्रेडमार्कको मूल्य त्यसले बजारमा निर्माण गरेको पहिचानसँग जोडिएको हुन्छ ।
त्यसैले दुई चिह्नबीच समानता छ कि छैन भन्ने प्रश्नमा शब्दको हिज्जे मात्र पर्याप्त हुँदैन । नामको उच्चारण, दृश्य स्वरूप, सम्बन्धित उत्पादन र उपभोक्तामा पर्न सक्ने समग्र प्रभाव पनि महत्त्वपूर्ण हुन्छ ।
कुनै नाम बजारमा स्थापित हुन समय लाग्छ । उत्पादन बजारमा जान्छ । प्रचार हुन्छ । वितरण विस्तार हुन्छ । उपभोक्ताले प्रयोग गर्छन् । पुनः खरिद हुन्छ । क्रमशः एउटा नाम उत्पादनसँग जोडिन्छ । त्यसपछि त्यो नाम आफैँमा व्यावसायिक सम्पत्ति बन्छ । यसै कारण स्थापित ब्रान्डको नाम वा पहिचानसँग मिल्दोजुल्दो अर्को ट्रेडमार्क दर्ता भो भने त्यसले कानुनी प्रश्न मात्र उठाउँदैन, बजारमा बनेको पहिचानको प्रश्न पनि उठाउँछ ।
विशेषगरी दैनिक उपभोगका वस्तुमा उपभोक्ताले उत्पादन खरिद गर्दा विस्तृत अनुसन्धान गर्दैनन् । पहिले चिनेको नाम, प्याकेट वा दृश्य पहिचानका आधारमा निर्णय गर्न सक्छन् ।
ट्रेडमार्क संरक्षणको उद्देश्य बजारमा नयाँ व्यवसायलाई रोक्नु होइन । कुनै नयाँ कम्पनीले स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्छ । उसले नयाँ उत्पादन ल्याउन सक्छ, मूल्यमा प्रतिस्पर्धा गर्न सक्छ, गुणस्तर सुधार्न सक्छ, नयाँ स्वाद वा प्रविधि प्रयोग गर्न सक्छ र आफ्नै वितरण सञ्जाल विकास गर्न सक्छ । तर प्रतिस्पर्धा र स्थापित ब्रान्डको पहिचानसँग भ्रम सिर्जना गर्ने अवस्था एउटै होइन ।
नयाँ कम्पनीका लागि आफ्नो पहिचान निर्माण गर्नु नै दीर्घकालीन बाटो हो । अर्को कम्पनीले वर्षौँ लगाएर निर्माण गरेको बजार पहिचानसँग अत्यधिक नजिक भएर ग्राहक आकर्षित गर्ने प्रयासले भने विवाद निम्त्याउन सक्छ ।
त्यसैले ट्रेडमार्क संरक्षणलाई प्रतिस्पर्धाविरोधी व्यवस्थाका रूपमा होइन, प्रतिस्पर्धाका लागि स्पष्ट सीमा तय गर्ने व्यवस्थाका रूपमा बुझ्न आवश्यक छ ।
‘सेन्टर फ्रुट’को घटनाको अर्को पक्ष नेपाली व्यवसायसँग सम्बन्धित छ । नेपालमा नयाँ उत्पादन बजारमा ल्याउने क्रममा नाम छनोट, प्याकेजिङ र प्रचारमा खर्च गरिन्छ । तर ट्रेडमार्कसम्बन्धी विस्तृत खोजी र कानुनी परीक्षणलाई सुरुआती चरणमै पर्याप्त महत्व नदिँदा पछि विवादको जोखिम रहन्छ ।
उत्पादनको नाम तय भइसकेपछि प्याकेजिङ छाप्ने, विज्ञापन गर्ने र वितरण सुरु गर्ने काम अघि बढिसकेको अवस्थामा ट्रेडमार्क विवाद उत्पन्न भयो भने व्यवसायीले ठूलो लागत व्यहोर्न सक्छ ।
त्यसैले ब्रान्ड निर्माणको सुरुआती चरणमै विद्यमान ट्रेडमार्क खोजी, नामको समानता, उच्चारण, दृश्य पहिचान र सम्भावित कानुनी जोखिमको परीक्षण आवश्यक हुन्छ ।
नियामकको भूमिका
ट्रेडमार्क संरक्षण प्रभावकारी बनाउन व्यवसायीको सावधानी मात्र पर्याप्त हुँदैन । नियामक निकायको संस्थागत क्षमता पनि महत्त्वपूर्ण हुन्छ । ट्रेडमार्क दर्तालाई कागजात पूरा भए–नभएको जाँच गर्ने प्रशासनिक प्रक्रियामा मात्र सीमित गर्न सकिँदैन । स्थापित ट्रेडमार्कसँगको सम्भावित समानता, सम्बन्धित वस्तु तथा सेवाको प्रकृति र उपभोक्ता भ्रमको सम्भावनालाई पनि प्रभावकारी रूपमा परीक्षण गर्नुपर्ने हुन्छ । दर्ता प्रक्रियामै सम्भावित विवाद पहिचान गर्न सकियो भने पछि हुने कानुनी विवाद घटाउन सकिन्छ । यसले व्यवसायीको लागत घटाउँछ, नियामकको काम सहज बनाउँछ र बजारमा अनिश्चितता कम गर्छ ।
लगानीकर्ताले खोज्ने कुरा पूर्वानुमानयोग्यता हो । लगानीमैत्री वातावरण भन्नाले विवाद नै नहुने वातावरण बुझिँदैन । व्यापारमा विवाद हुन सक्छन् । मुख्य कुरा विवाद भएपछि कानुन कसरी लागू हुन्छ भन्ने हो । लगानीकर्ताले आफ्नो अधिकार स्पष्ट छ कि छैन, कानुनी प्रक्रिया कति पूर्वानुमानयोग्य छ, विवादको समाधान निष्पक्ष हुन्छ कि हुँदैन र अदालत तथा नियामकका निर्णय कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई महत्व दिन्छ । यही पूर्वानुमानयोग्यताले दीर्घकालीन लगानीको विश्वास निर्माण गर्छ । ट्रेडमार्क संरक्षण पनि त्यही विश्वासको एउटा हिस्सा हो ।
बौद्धिक सम्पत्ति संरक्षणलाई विदेशी कम्पनीको हितसँग मात्र जोडेर हेर्नु उचित हुँदैन । बलियो ट्रेडमार्क प्रणालीको आवश्यकता नेपाली व्यवसायलाई पनि उत्तिकै हुन्छ । आज सानो नेपाली कम्पनीले निर्माण गरेको ब्रान्ड भोलि राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्छ ।
त्यसैले विदेशी कम्पनीले आफ्नो स्थापित ब्रान्डको संरक्षण खोज्दा त्यसलाई मात्र अधिकारको विषय बनाउनु र नेपाली कम्पनीको मौलिक ब्रान्डलाई कमजोर संरक्षण दिनु दिगो नीति हुन सक्दैन । मौलिक ब्रान्ड निर्माण गर्ने स्वदेशी वा विदेशी जुनसुकै व्यवसायको अधिकार समान रूपमा सुरक्षित हुनुपर्छ । त्यही समानताले प्रतिस्पर्धालाई पनि स्वस्थ बनाउँछ र लगानीकर्ताको विश्वास पनि बढाउँछ ।
‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदरसम्बन्धी प्रकरणले यही प्रश्न उठाएको छ । नेपालमा लगानी गर्दा कम्पनीले निर्माण गरेको अमूर्त सम्पत्ति कति सुरक्षित छ ? लगानीकर्ताले पूँजी लगाउँदा कारखाना र मेसिन मात्र हेर्दैन । उसले आफ्नो प्रविधि, ब्रान्ड र बजारमा निर्माण गर्ने मूल्य सुरक्षित रहने वातावरण पनि खोज्छ ।
त्यसैले नेपाललाई लगानीको गन्तव्य बनाउने हो भने सडक, विद्युत , कर र प्रशासनिक सुधारसँगै बौद्धिक सम्पत्तिको संरक्षण र त्यससम्बन्धी नियामकीय पूर्वानुमानयोग्यतालाई पनि लगानी वातावरणकै अभिन्न हिस्सा मान्नुपर्छ ।
(विजयानन्द अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) का अध्यक्ष हुन् ।)
प्रतिक्रिया 4