+
+
Shares

दिल्लीबाट काठमाडौं यात्रा, बागडोगरा-भद्रपुर हुँदै आउँदा प्रतिव्यक्ति १४ हजार रुपैयाँसम्म बचत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्ली–काठमाडौं सीधा उडानको भाडा ३२ हजार ६०० देखि ३५ हजार ४०० रुपैयाँ हुँदा बागडोगरा हुँदै भद्रपुरबाट काठमाडौं आउँदा २१ हजार १०० देखि २२ हजार ४०० रुपैयाँ पर्छ।
  • बागडोगरा–काँकडभिट्टा–भद्रपुर मार्गबाट यात्रा गर्दा प्रतिव्यक्ति १० हजार २०० देखि १४ हजार ३०० रुपैयाँसम्म बचत हुन सक्ने देखिएको छ।
  • दिल्लीबाट बिहान ६ः०५ बजे स्पाइसजेटमार्फत बागडोगरा पुगेर भद्रपुरबाट यती एयरलाइन्सको दिउँसो २ः१५ बजेको उडान लिन सकिने उल्लेख छ।

३० असोज, काठमाडौं । दसैँमा भारतको राजधानी दिल्लीबाट काठमाडौं आउने यात्रुले सीधा उडानको सट्टा बागडोगरा हुँदै झापा आएर आन्तरिक उडानमार्फत काठमाडौं पुग्दा प्रतिव्यक्ति १० हजार २०० देखि १४ हजार ३०० रुपैयाँसम्म बचत गर्न सक्ने भएका छन्।

दिल्ली–काठमाडौं सीधा उडानको एकतर्फी इकोनोमी श्रेणीको भाडा हाल ३२ हजार ६०० देखि ३५ हजार ४०० रुपैयाँसम्म रहेकामा बागडोगरा हुँदै भद्रपुरबाट काठमाडौं आउँदा कुल खर्च २१ हजार १०० देखि २२ हजार ४०० रुपैयाँसम्म पर्ने देखिन्छ। यसरी वैकल्पिक मार्गबाट यात्रा गर्दा हवाई भाडामा ४० प्रतिशतसम्म बचत गर्न सकिन्छ।

दसैँको चाडपर्वका कारण दिल्ली–काठमाडौं सीधा उडानको भाडा महँगिएको अवस्थामा यो वैकल्पिक मार्ग तुलनात्मक रूपमा सस्तो देखिएको हो।

यस मार्गबाट यात्रा गर्ने यात्रुले बिहान ६ः ०५ बजे दिल्लीबाट स्पाइसजेटको उडानमार्फत बागडोगरा पुग्न सक्छन् । उक्त उडानको भाडा १२ हजार ४ सय रुपैयाँ पर्दछ । विमान बिहान ८ : १५ बजे बागडोगरा अवतरण गर्ने तालिका छ। त्यसपछि बागडोगरा विमानस्थलबाट करिब २१.५ किलोमिटर सडक दूरी पार गरी नाकाबाट काँकडभिट्टा हुँदै भद्रपुर विमानस्थल पुग्न सकिन्छ।

बागडोगराबाट काँकडभिट्टा र त्यहाँबाट भद्रपुरसम्म ट्याक्सीमा यात्रा गर्दा अनुमानित १ हजार ९०० देखि ३ हजार २०० रुपैयाँ खर्च लाग्नेछ। भद्रपुरबाट काठमाडौंसम्मको आन्तरिक हवाई भाडा करिब ६ हजार ८०० रुपैयाँ छ।

उपलब्ध उडान तालिकाअनुसार भद्रपुरबाट यती एयरलाइन्सको विमान बिहान १० : १५ र दिउँसो २ : १५ बजे काठमाडौंका लागि उड्नेछ। दिल्लीबाट बिहानको उडान लिएर आउने यात्रुका लागि दिउँसो २ : १५ बजेको उडान बढी व्यावहारिक देखिन्छ। उक्त उडानबाट यात्रु दिउँसो करिब ३ बजे काठमाडौं पुग्न सक्छन्।

यसरी दिल्लीबाट बागडोगरा हुँदै सडकमार्गबाट भद्रपुर आएर काठमाडौं उड्दा सीधा उडानको तुलनामा उल्लेख्य रकम बचत गर्न सकिने देखिएको छ। यद्यपि, यात्राअघि हवाई भाडा, उडान समय, सीमापार आवागमनसम्बन्धी व्यवस्था र सडक यात्राको समय यकिन गर्न आवश्यक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?